रामेछापको उमाकुण्डलाई बालमैत्री बनाउने लक्ष्य, प्रीतिमा नीतिगत अभिमुखीकरण

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिमा बालमैत्री स्थानीय शासनको नीतिगत तथा प्रक्रियागत अवलम्बन, कार्यान्वयन र घोषणा प्रक्रिया सम्बन्धी वडा स्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नम्बर ५ प्रीति वडा कार्यालयको आयोजनामा तथा उमाकुण्ड गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममार्फत वडा नम्बर ५ ले २०८३ मङ्सिर मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक हस्ताक्षरसमेत गरेको छ।
कार्यक्रम वडा अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार प्रमुख अतिथि र उपाध्यक्ष सावित्री सुनुवार विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।



अभिमुखीकरण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूले गाउँपालिकाले लिएको लक्ष्यअनुसार उमाकुण्डलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्। बालबालिकाको हक, अधिकार, संरक्षण, सहभागिता र विकासलाई केन्द्रमा राख्दै स्थानीय तहलाई बालमैत्री बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।