रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले एकीकृत सुरक्षा योजना २०८२ अनुसार बुधवारदेखि रामेछापमा नेपाली सेना परिचालित भएको छ ।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। सोही योजनाअनुसार रामेछापस्थित नेपाली सेनाको खड्गदल गणबाट ४०० भन्दा बढी सैनिक जिल्लाका विभिन्न रणनीतिक स्थानमा परिचालन गरिएको हो।
दुई नगरपालिका र छ गाउँपालिका गरी ६४ वटा वडा रहेको रामेछापमा आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएका छन्।
निर्वाचन आउन अब २९ दिन मात्रै बाँकी रहँदा सुरक्षा व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेना परिचालित भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
यसरी परिचालित भएका नेपाली सेनाले सुरक्षा वातावरण बनाएर सबै नागरिक र निर्वाचन प्रक्रियाका पक्षधारीहरूलाई सुरक्षित र निष्पक्ष मतदान अनुभव प्रदान गर्ने कामहरू गर्नेछन् ।
एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनाले निर्वाचन सुरक्षाको बाहिरी घेरा सम्हाल्नेछ भने भित्री सुरक्षा व्यवस्थापनको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिनेछन्। तीन तहको सुरक्षा व्यवस्थाबाट निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै सुरक्षा निकायबिच समन्वयका साथ काम भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो निर्वाचनमा रामेछापमा १ लाख ८७६ हजार ९५२ जना मतदाता रहेका छन् । रामेछाप देशकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र रहेको जिल्ला हो ।