रामेछाप । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता सङ्ख्या तथा मतदान स्थल–केन्द्रको विवरण सार्वजनिक गरेको छ।
आयोगका अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका छन्। सार्वजनिक विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछाप देशकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ। रामेछापमा कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। तीमध्ये ९६ हजार ८९२ जना पुरुष र ९१ हजार ६० जना महिला मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाका ६४ वटै वडामा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। यो निर्वाचनमा मतदाता बढेसँगै दुई वटा मतदान केन्द्र थप भएको निर्वाचन अधिकृत लामिछानेले बताए ।
मतदातालाई सहज, सुरक्षित र व्यवस्थित रूपमा मतदान गर्न सकिने गरी मतदान स्थल र केन्द्र तोकिएको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाताको तथ्यांकअनुसार धेरै मतदाता हुने निर्वाचन क्षेत्रको सूचीमा दोस्रो स्थानमा अर्घाखाँची–१ र तेस्रो स्थानमा दोलखा–१ रहेका छन्। त्यस्तै, सबैभन्दा कम मतदाता सङ्ख्या मनाङ जिल्लामा रहेको छ, जहाँ करिब ७ हजार मतदाता मात्र छन्।