मन्थली अस्पतालमा ३६ जना सुत्केरीलाई सामग्री वितरण

  • प्रकाशित मिति: सोमबार, माघ १९ २०८२
  • तामाकोशी

रामेछाप, मन्थली । मन्थली नगरपालिकाले उपमेयरसँग सुत्केरी भेट कार्यक्रमअन्तर्गत आज मन्थली अस्पतालमा सुत्केरी महिलालाई आवश्यक सामग्री वितरण गरेको छ । मन्थली नगरपालिकाकी उपमेयर इश्वरी बस्नेतको उपस्थितिमा जिल्लाका सबै ८ पालिकाको समेत गरी ३६ जना सुत्केरी महिलालाई सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा प्रत्येक सुत्केरीलाई एक लिटर घ्यु, एक लिटर तेल तथा एक सेट बेबी किट वितरण गरिएको छ । साथै नगरपालिकाभित्र छोरी जन्माउने सुत्केरी तथा तीन सन्तान जन्माएका सुत्केरीलाई प्रोत्साहनस्वरूप प्रतिव्यक्ति तीन हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ ।
मन्थली नगरपालिका क्षेत्रमा हाल कठजोर, सालु, पुरानागाउँ, मन्थली, फुलासी र गेलु गरी छ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म मन्थली नगर अस्पतालमा जम्मा १८४ जना सुत्केरी भएकोमा ४० जनाको शल्यक्रिया (अपरेसन) मार्फत प्रसूति गराइएको छ ।
कार्यक्रममा उपमेयर बस्नेतले सुरक्षित सुत्केरी सेवा विस्तार तथा मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । आगामी दिनमा पनि सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।