रामेछाप । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेछाप जिल्लाका ४१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। दुई नगरपालिका र ६ वटा गाउँपालिका समेटिएको रामेछापमा कुल ६४ वडा र ९६ वटा मतदान स्थल रहेका छन्।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ९६ मतदानस्थलमध्ये ४१ वटा अति संवेदनशील, ३५ वटा संवेदनशील र २० वटा मतदान स्थललाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ।
निर्वाचनको शान्ति–सुरक्षाका लागि जिल्लामा १ हजार ४२९ जना निर्वाचन प्रहरी परिचालन गरिने प्रजिअ थापाले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सुरक्षा परिचालन हुनेछ। “नेपाल प्रहरी मातहतको १ हजार ३३३ जना र सशस्त्र प्रहरी मातहतको ९६ जना गरी कुल १ हजार ४२९ जना निर्वाचन प्रहरी परिचालन हुनेछन्,” उनले भने। हालसम्म करिब १५० जना निर्वाचन प्रहरी अपुग भएकाले छिमेकी जिल्ला सिन्धुली लगायतका जिल्लाबाट माग गरिएको पनि प्रजिअ थापाले बताए।
जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यस निर्वाचनका लागि जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता कायम छन्। जसमा पुरुष मतदाता ९६ हजार ८९२ जना र महिला मतदाता ९१ हजार ६० जना रहेका छन्।
मतदाता सङ्ख्या बढेसँगै यस पटक जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। अघिल्लो निर्वाचनको तुलनामा २ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।