निर्वाचन तयारीमा एमाले रामेछाप, युथ कमाण्ड सहित ८ जना उम्मेदवार सिफारिस

  • प्रकाशित मिति: मंगलबार, पुष २२ २०८२
  • नवराज श्रेष्ठ

रामेछाप । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) रामेछापले ८ जना उम्मेदवारको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सदरमुकाम मन्थलीमा मंगलबार बसेको एमाले जिल्ला कमिटीको छैटौँ पूर्ण बैठकले दाबेदारी प्रस्तुत गरेका सबै ८ जनाकै नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।



एमाले रामेछापका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि माधवप्रसाद ढुङ्गेल, कैलाशप्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशरबहादुर बुढाथोकी र गीता कार्कीको नाम सिफारिस गरिएको छ।

बैठकले निर्वाचनलाई लक्षित गर्दै यही पौष २५ गतेदेखि माघ ३ गतेसम्म विशेष निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ। साथै, जिल्लाका प्रत्येक मतदान बुथमा १० जनाको युथ कमाण्ड निर्माण गर्ने रणनीति तय गरिएको (एमाले) रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले बताए ।

रामेछाप जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी ६४ वटा वडा रहेका छन्। यसैबीच, जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक मतदाता संख्या ७ हजार ८४६ ले वृद्धि भएको छ।

हाल रामेछापमा कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ पुगेको छ। मतदान स्थल भने पुरानै ९६ वटा कायम रहे पनि मतदाता वृद्धि भएपछि मतदान केन्द्र संख्या २ वटा थप भई २२८ पुगेका छन्।