रामेछाप । उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एथलेटिक्स विधातर्फ ७ दिने आधारभूत प्रशिक्षण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ।
माध्यमिक विद्यालयका खेलकुद शिक्षक तथा वडा खेलकुद विकास समितिले सिफारिस गरेका प्रतिनिधिलाई लक्षित गरी सञ्चालन गरिएको उक्त प्रशिक्षण यही पुस १६ गतेदेखि सुरु भएको थियो।
कार्यक्रमको समापन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभयो । समापन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि र विद्यालय स्तरमै एथलेटिक्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता तालिमहरूले दीर्घकालीन रूपमा खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
तालिममा सहभागीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण प्रविधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। कार्यक्रमका प्रशिक्षक धनिराज चौधरीले यो तालिमपछि अब बाहिरबाट प्रशिक्षक ल्याउनुपर्ने अवस्था अन्त्य भएको र स्थानीय समुदायले नै विविध खेलकुद कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता विकास भएको बताउनुभयो।
उमाकुण्ड खेलकुद विकास समितिका संयोजक सुदीप सुनुवारले स्थानीय प्रशिक्षक उत्पादनसँगै खेलकुद क्षेत्रमा आत्मनिर्भरता बढ्ने र गाउँका युवाहरू प्रशिक्षकका रूपमा अवसर पाउने उल्लेख गर्नुभयो। त्यस्तै, उमाकुण्ड–४ का वडा अध्यक्ष मानबहादुर सुनुवारले अब बाहिरका प्रशिक्षक ल्याउन खर्च गर्नुपर्ने बाध्यता हटेको भन्दै रामेछापका अन्य स्थानीय तहको तुलनामा उमाकुण्ड खेलकुद विकासमा अगाडि रहेको दाबी गर्नुभयो। तालिमबाट १४ जना सहभागी प्रशिक्षित भएका छन्। समापन अवसरमा प्रशिक्षित टोलीलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।