रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा तथा मन्थली नगरपालिकाको सहकार्यमा कफि तथा बारिष्टा सम्बन्धी १० दिने तालिम मन्थलीमा सुरु भएको छ। “औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” भन्ने नारासहित सुरु भएको तालिमले स्थानीय युवालाई उद्यमशीलता तथा रोजगारीसँग जोड्ने उद्देश्य राखेको छ।
कार्यक्रमको उद्घाटन आइतबार उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख खेमराज घिमिरेको अध्यक्षता तथा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।
पौष १ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय युवक–युवतीहरूको उल्लेख्य सहभागिता रहेको छ। तालिममा कफि बनाउने कलाबाट लिएर बारिष्टाका आवश्यक सीप, कफि मेसिन सञ्चालन, सेवा व्यवस्थापन तथा कफि व्यवसायकै आधारभूत ज्ञान व्यवहारिक रूपमा सिकाइनेछ।
कार्यक्रमका प्रमुख अतिथि एवं मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले यस्ता सीपमूलक तालिमले आत्मनिर्भरता, व्यवसायिकता र स्थानीय उत्पादनको प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो। तालिमले युवामा सीप विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्नुभयो । उद्योग तथा वाणिज्य कार्यालय रामेछापले आगामी दिनमा पनि युवाको क्षमता अभिवृद्धिका कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष होमबहादुर पौडेल, उद्योग वाणिज्य सङ्घ रामेछापका जयप्रकाश श्रेष्ठ लगायतले समेत आ-आफ्नो विचार राख्नुभएको थियो ।