रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरमा आइतबार एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर मार्फत स्थानीय वासीलाई विभिन्न सरकारी सेवा एकै स्थानबाट सहज रूपमा उपलब्ध गराइएको थियो।
शिविरमा नेपाली नागरिकता प्रमाणपत्रका २५ नयाँ तथा ४२ प्रतिलिपि सहित जम्मा ६७ जनाले सेवा प्राप्त गरे।
त्यस्तै, राष्ट्रिय परिचयपत्र सम्बन्धी ४३ जनाको विवरण सङ्कलन तथा ३ जनालाई कार्ड वितरण गरिएको छ। शिविरमा ९ वटा व्यवसाय नवीकरण, १७ वटा योजना सम्झौता र पशु स्वास्थ्य सेवा अन्तर्गत ७७ घरधुरीका १ हजार ५ सय ४ पशु वस्तुलाई औषधि वितरण गरिएको छ। साथै १७ वटा कुकुरलाई रेबिज खोप लगाइएको छ ।
शिविरबाट १५ हजार ३०० राजश्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ । एकै दिनमा विभिन्न सेवाहरू एकै स्थानमा उपलब्ध गराइएको यो शिविरले स्थानीय वासीलाई अत्यन्त सहज र प्रभावकारी सेवा प्रदान गरेको उमाकुण्ड गाउँपालिकाले बताएको छ।
७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिका–१ गुम्देलबाट मंसिर २ गतेदेखि एकीकृत घुम्ती सेवा शिविर अभियान सुरु भएको थियो । अब भोलि(सोमबार) वडा नं ७ भुजिमा बिहान ७ बजेबाट शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।