रामेछाप । मन्थली नगरपालिकाले नगरका सबै १४ वडामा वडास्तरीय प्रारम्भिक बालविकास (ईसीडी) समिति गठन गरेको छ। कात्तिक १६ गतेदेखि २८ गतेसम्म आयोजित १ दिने कार्यशाला तथा अभिमुखीकरणमार्फत समिति गठन गरिएको हो।
नेपाल सरकार, राष्ट्रिय योजना आयोगले २०७७–२०८८ का लागि प्रकाशित ‘प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति’ तथा २०७७ मंसिर २३ गतेकै मन्त्रिपरिषद्को स्वीकृतिअनुसार यी समितिहरू गठन गरिएको मन्थली नगरपालिकाका बालविकास संयोजक नवराज विश्वकर्माले जानकारी दिए।
रणनीतिअनुसार वडा अध्यक्षको संयोजकत्वमा कम्तीमा ९ सदस्य रहने गरी सबै वडामा समिति गठन गरिएको र यसले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको संयोजक विश्वकर्माको भनाइ छ। उनका अनुसार दिगो विकास लक्ष्यका १७ मध्ये ११ लक्ष्य प्रारम्भिक बालविकाससँग प्रत्यक्ष सम्बन्धित छन्।
गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक तथा सामाजिक विकासका लागि आवश्यक सेवा सुनिश्चित गर्न समितिको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।
समितिले स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा, खानेपानी तथा सरसफाइका सेवाहरू परिवार तथा समुदायको संलग्नतामा एकीकृत रूपमा पु¥याउने, अभिभावक तथा समुदायको जिम्मेवारी अभिवृद्धि गर्ने लगायतका कार्यहरू गर्नेछ। कार्यशालामा सहभागीहरूले प्रारम्भिक बालविकासको अवधारणा, तत्वहरू, महत्व, फाइदा तथा वडास्तरीय समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण प्राप्त गरेका थिए। कार्यक्रममा वडा अध्यक्ष, सदस्य, स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेविका, बाल–सञ्जाल प्रतिनिधि लगायतको सहभागिता थियो।
उक्त कार्यशाला इसिडी हार्मोनी परियोजनाअन्तर्गत चाइल्डएड नेटवर्क फाउण्डेशनको आर्थिक र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो। परियोजनामार्फत वडाका ईसीडी केन्द्रहरूलाई कार्पेट, चकटी, कुर्सी, पिफर्म, किडबक्स, सिकाइ कुना र्याक जस्ता भित्री सामाग्री तथा पिङ, चिप्लेटी, क्लाइम्बर, चाकाचुली जस्ता बाहिरी खेल सामग्री हस्तान्तरण गरिएको छ। साथै अभिभावक शिक्षा, शिक्षक तालिम, विद्यालय घेराबार निर्माण लगायतका कार्यक्रम पनि सञ्चालित छन्।
नगरका सबै वडामा १० जना ईसीडी मेन्टर नियुक्त गरी परियोजनाले निरन्तर प्राविधिक सहयोग प्रदान गरिरहेको सेतो गुराँसले जनाएको छ। यससँगै मन्थली नगरपालिका आगामी वर्षहरूमा बालबालिकाको सर्वाङ्गीण विकास लक्ष्य पुरा गर्न थप प्रभावकारी रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।