रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीका पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले राहत सामग्री प्रदान गरेको छ। घर भत्किएर बस्नै नसक्ने ३५ परिवारलाई रेडक्रसले त्रिपाल, म्याट र कम्बललगायत सामग्री वितरण गरेको हो।
रेडक्रसका मन्त्री दुर्गा श्रेष्ठका अनुसार स्थानीय खानीखोलाबाट सुरु भएको पहिरोले गाउँको पुरै जमिन सारिँदै गएको छ। “गाउँ नै बगेकाले ७८ घर परिवार उच्च जोखिममा परेका छन्। धेरै नागरिक अझै पनि भत्किएका घरमै जोखिम मोलेर बसिरहेका छन्,” श्रेष्ठले भने।
सुनापति गाउँपालिका–३ का वडाध्यक्ष कूलबहादुर थिङका अनुसार केउरेनी, साउने, च्यामदुङका बस्तीहरू सबैभन्दा बढी जोखिममा छन्। “६५ घर परिवारलाई अस्थायी स्थानान्तरणका लागि सिफारिस गरेर पठाएका छौँ,” उनले भने, “सरकारले ५० हजार र गाउँपालिकाले १५ हजार सहयोग दिने निर्णय गरेको छ।”
अहिले राहत रकम पाउने पीडितको बैङ्क खाता खोल्ने काम भइरहेको र खाता खेलिसकेपछि रकम प्रदान गरिने उनले बताए । थिङका अनुसार साउने–केउरेनी क्षेत्रमा सन् १९७८ (२०३५ साल) मा पनि ठुलो पहिरो गएको थियो। त्यति बेला बस्ती सारिए पनि पहिरो रोकिएपछि मानिसहरू पुनः फर्किएर बसाइँ बसेका हुन्। तर गत असोज दोस्रो साताको वर्षापछि फेरी जमिन खस्न थालेको उनले बताए।
सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङका अनुसार तत्काल सार्नुपर्ने परिवारका लागि विद्यालय र सामुदायिक भवनमा अस्थायी आवासको तयारी भइरहेको छ। “पहिरोले प्रभावित बस्तीहरू अत्यन्तै जोखिमपूर्ण स्थानमा छन्,” अध्यक्ष तामाङले भने, “दीर्घकालीन पुनर्वासका लागि गाउँपालिकाले तीन सम्भावित स्थानमा जग्गा पहिचान गरेको छ र प्रदेश तथा संघीय सरकारसँग सहयोगका लागि अनुरोध पठाइसकेका छौँ।”