रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले जनस्तरमा संगठन विस्तार र शक्ति प्रदर्शनका लागि जिल्लाभर जनभेला, जनप्रदर्शन र जनसभा आयोजना गर्ने तयारी तीव्र पारेको छ। एमाले रामेछापले पार्टीले केन्द्रीय कार्यालयबाट जारी अन्तर–पार्टी निर्देशन नं. १३ अनुसार वडा, पालिका र जिल्ला तहमा चरणबद्ध रूपमा कार्यक्रम गर्ने तयारीलाई तीव्रता दिएको हो ।
जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले बुधवार रामेछापका सबै वडा, पालिका र जिल्ला तहका कमिटीहरूलाई जिम्मेवारीपूर्वक तयारीमा जुट्न निर्देशन दिएका छन् । निर्देशनअनुसार वडा स्तरमा कार्तिक २२ गते, पालिका स्तरमा कार्तिक २५ गते र जिल्ला स्तरमा कार्तिक २९ गते जनसभा आयोजना गरिने उल्लेख छ।
जिल्ला स्तरीय भव्य जनसभा मन्थलीमा हुने भएको छ। सो जनसभाको तयारीका लागि कार्तिक २६ गते बिहान ११ बजे मन्थलीमा बैठक बस्ने एमाले रामेछापले जनाएको छ। बैठकमा जिल्ला कमिटीका सदस्यहरू तथा आमन्त्रित सदस्हयरूको उपस्थिति रहनेछ।
अध्यक्ष कडरियाले सबै तहका कमिटीहरूलाई कार्यक्रम सफल पार्न सक्रियतापूर्वक जुट्न निर्देशन दिएका छन्। उनका अनुसार जनस्तरमा पार्टीको सशक्त उपस्थितिबाट रामेछाप जिल्लामा एमालेको संगठनात्मक सुदृढीकरण अझ बलियो बन्ने विश्वास लिइएको छ।
