८ औँ मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड आगामी मङ्सिर ४ देखि हुने

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १८ २०८२
  • तामाकोशी

रामेछाप । मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ८ औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मङ्सिर ४ गतेदेखि ६ गतेसम्म मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने भएको छ।

मंगलबार बसेको समितिको बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको हो। नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल बहादुर माझीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता व्यवस्थापनका लागि प्रस्ताव पत्र तयार गरी नगर कार्यपालिका कार्यालयमा पेस गर्ने निर्णय पनि गरेको छ।



बैठकले यस प्रतियोगितामा सहभागी विद्यालयका खेलाडी सङ्ख्याको आधारमा मन्थली नगरपालिकाबाट सहभागिता भत्ता रकम उपलब्ध गराउने र प्रत्येक विद्यालयले भलिबल तथा कबड्डी खेलमा कम्तीमा एक समूह अनिवार्य रूपमा सहभागी गराउनुपर्ने निर्णय गरेको अध्यक्ष माझीले बताए ।

अध्यक्ष माझीका अनुसार नगरभित्रका २० वटा माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जनाउने छन् । यो प्रतियोगिताका लागि २३ लाख रुपैयाँ बजेट रहेको उनले बताए ।
उनका अनुसार वैदेशिक रोजगारीका कारण समितिमा रिक्त रहेको सदस्य पदमा वडा नं. १ निवासी कमल विक्रम श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ। बैठकले चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता र दोस्रो महिला भलिबल प्रतियोगिता २०८२ का लागि आवश्यक पूर्व तयारी तथा सहभागी खेलाडी छनोटका कार्यहरू सहज बनाउन नगरका सबै वडाहरूसँग पत्राचार गर्ने निर्णय पनि गरेको अध्यक्ष माझीले बताए ।