विद्युत् सर्ट भई आगलागी हुँदा रामेछाप नगरपालिका–३ स्थित एक घर नष्ट

  • प्रकाशित मिति: आइतबार, कार्तिक १६ २०८२
  • तामाकोशी

रामेछाप रामेछाप नगरपालिका–३ साघुँटार लक्ष्मिबासस्थित ठेटबहादुर महतको घरमा गयराति आगलागी हुँदा घरसहित सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको छ।

फ्रिजमा जोडिएको विद्युत् लाइन सर्ट भई आगलागी हुँदा भूकम्पपछि पुनर्निर्माण गरिएको जस्ताको छानो भएको तीन कोठे घर सहित घरभित्रका सबै सामान पूर्ण रूपमा नष्ट भएको छिमेकी सूर्य महतले बताए।



उनका अनुसार गयराति करिब १० बजे आगलागी सुरु भएको र स्थानीयले राति साढे १२ बजे नियन्त्रणमा लिएका थिए। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, समूहको सामग्रीसहित सबै सम्पत्ति खरानी भएको छ। आगलागीबाट करिब २८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार क्षतिको यकिन विवरण संकलन कार्य भइरहेको छ।