रामेछाप । बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्र वातको प्रभावले आगामी तीन दिनसम्म रामेछाप पनि प्रभावित हुने पूर्वानुमान रहेको भन्दै सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विशेष बुलेटिनमा रामेछापका स–साना नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको उल्लेख छ।
यही कुरालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार सूचना जारी गर्दै नदी तटीय बस्ती, पहिरो जोखिम क्षेत्र र विपन्न बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
आगामी ३ दिनसम्म (कार्तिक १५ गतेसम्म) मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी किनार, खोला तथा पहाडी क्षेत्रका नागरिकले जोखिम न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने” प्रशासनको सूचनामा उल्लेख छ।
प्रमुख अधिकारी श्यामकृष्ण थापाले स्थानीय तह, सुरक्षा निकाय र सरोकार भएका कार्यालयहरूलाई राहत तथा उद्धार तयारी अवस्थामा रहन अनुरोध गरेका छन्।
विशेष गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने, पहिरोको जोखिम क्षेत्रहरूमा बसोबास गर्ने लगायतका आम नागरिकहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । त्यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँका बासिन्दालाई सावधानीपूर्वक रहन अनुरोध गरिएको छ। गत सोमबार दिउँसोबाट मौसम बदली भएको रामेछापमा मंगलबार खासै वर्षा नभए पनि वुधबार साँझदेखि वर्षा जारी छ ।