रामेछापमा सभा, र्‍याली र सार्वजनिक प्रदर्शन गर्न प्रशासनिक अनुमति चाहिने

  • प्रकाशित मिति: बुधबार, कार्तिक १२ २०८२
  • तामाकोशी

रामेछाप रामेछापमा सभा, र्‍याली र सार्वजनिक प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्न अब जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले बुधवार एक सूचना जारी गर्दै यस्तो कार्यक्रम गर्नुअघि तोकिएको ढाँचामा निवेदन दिएर स्वीकृति प्राप्त गर्न सबैलाई आग्रह गरेको हो।

कार्यालयका प्रशासकीय अधिकृत प्रकाश प्रधानद्वारा जारी सूचनामा गृह मन्त्रालयको निर्देशन अनुसार स्थानीय प्रशासनले जिल्लाको शान्ति–सुरक्षा र वस्तुस्थितिको विश्लेषण गरी मात्र अनुमति दिने व्यवस्था गरिएको उल्लेख छ।



सूचनामा भनिएको छ,“संविधानले प्रदत्त शान्तिपूर्ण भेला  हुन पाउने अधिकार सुनिश्चित गर्दै, कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेपछि मात्र सार्वजनिक प्रदर्शन, र्‍याली वा सभा सञ्चालन गर्न पाइनेछ।” जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न चाहने पक्षले अनुमति माग गर्ने निवेदन तोकिएको ढाँचामा पेस गर्नुपर्ने जनाएको छ। प्रशासन कार्यालयले सो ढाँचा सूचनासँगै सार्वजनिक पनि गरेको छ ।