रामेछाप । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपाती पर्वको अवसरमा सोमबार रामेछापको ऐतिहासिक खाँडादेवी शक्ति पीठमा विशेष बलि तथा पञ्च बलि पूजा चलिरहेको छ।
बिहानैदेखि भक्तजनहरूले शास्त्रीय विधिअनुसार फूलपाती भित्र्याउँदै भाकल अनुसारका बलि चढाएका छन्।
खाँडादेवी गाउँपालिका–७ मा अवस्थित यस मन्दिरमा जमरा राखेपछि हरेक वर्ष दसैँ विशेष बलि पूजा खुला गरिन्छ।
दसैँको फूलपाती, महाअष्टमी र महानवमीका दिन विशेष बलि पूजा हुने गरेको छ । खाँडादेवी विकास कोषका कोषाध्यक्ष प्रकाश बुढाथोकीका अनुसार आज बिहान ११ बजेसम्ममा मात्रै ३५ भन्दा बढी पञ्च बलि र एक हजारभन्दा बढी सामान्य बलि अर्पण भइसकेको छ। अझै भक्तजनको आगमन निरन्तर जारी रहेको उनले बताए।
उनका अनुसार पञ्च बलि परम्पराअनुसार कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र पोथी कुखुराको बलि दिने चलन छ। पहिले मुख्य पञ्च बलिको खर्च दरबारबाट व्यवस्था हुने गर्थ्यो। तर अहिले यो जिम्मेवारी खाँडादेवी विकास कोषले सम्हाल्दै आएको छ। कोषले हरेक वर्ष बडादसैँ र चैते दसैँको नवमीका दिन मुख्य सरकारी पञ्च बलि पूजा आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ।
कोषाध्यक्ष अध्यक्ष शेरबहादुर तामाङका अनुसार खाँडादेवी शक्ति पीठमा बलि पूजा चढाउन रामेछाप मात्र नभई छिमेकी जिल्लाहरू, राजधानी काठमाडौँ हुँदै देशका विभिन्न भागबाट भक्तजन आउने गर्छन्। भक्तजनको भीडलाई व्यवस्थापन गर्न र सहजता मिलाउन कोषले आवश्यक तयारी र व्यवस्था मिलाएको पनि उनले बताए।
खाँडादेवी शक्ति पीठलाई देवी भागवत महापुराण र शिवपुराणको हिमवतखण्डमा समेत उल्लेख गरिएको पाइन्छ। किरात कालदेखि नै यहाँ पूजा हुने परम्परा रहिआएको मानिन्छ। विशेष गरी पहरी समुदायले खाँडादेवीलाई ‘चेली’ मानी फूलपातीका दिन विशेष कोसेलीसहित भेट्न जाने प्रथा आजसम्म जीवित छ।
विसं १५७३ मा चढाइएको ठुलो घण्टा, दरबारबाट अर्पण गरिएका चाँदीका जन्तर र गहनाजस्ता धरोहर आजसम्म सुरक्षित छन्। जनश्रुति अनुसार राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा सिन्धुलीगढी युद्धपछि खाँडादेवीलाई सहायक गढी बनाएर देवीको आशीर्वादसहित विजय प्राप्त गरेका थिए। युद्धपश्चात् देवीको शिला दरबारमा लैजान खोज्दा तीन पटक असफल भएपछि खाँडादेवीसहित विभिन्न देवी–देवतामा बलि दिने परम्परा सुरु भएको मानिन्छ।
काठमाडौँबाट काभ्रेको बनेपा हुँदै धुलिखेल–सिन्धुली पार गर्दै बिपी राजमार्गमार्फत करिब १०० किलोमिटरको रमणीय यात्रापछि खाँडादेवी पुग्न सकिन्छ। हरेक वर्षजस्तै यस वर्ष पनि बडादसैँको अवसरमा खाँडादेवीमा भक्तजनको ठुलो भीड लागेको छ।