रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमै बहुउद्देश्यीय कभर्डहल वषौँदेखि अधुरो छाडिएको छ। मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा निर्माणाधीन कभर्डहल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ।
२०७७ असारमा निर्माण सुरु गरिएको उक्त कभर्डहल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो।
वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८८० रुपैयाँ ५३ पैसा लागतमा सुनकोसी–गिरी जेभी, काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो। ६० प्रतिशत भन्दा बढी संरचना निर्माण भइसके पनि निर्माण व्यवसायीले रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा काम रोकिएकै बसौँ भइसक्यो ।
स्थानीय खेलाडी रमेश चापागाईँ भन्छन्, “कभर्डहल बन्न थालेपछि रामेछापका खेलाडीमा उत्साह थपिएको थियो । तर १८ महिनामा बन्नुपर्ने कभर्डहल पाँच वर्षसम्म बनेको छैन । यसले यहाँको खेलकुद विकासमा ठुलो धक्का लागेको छ ।”

सबै संरचना निर्माण भइसके पनि नेपालमै अहिलेसम्म प्रयोगमा नआएको भनिएको रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा कभर्डहल अलपत्र बनेको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताए।
उनका अनुसार पाँच वर्षअघि सुरु भएको कभर्डहल अहिले जीर्ण बन्दै गएको छ । “बनेका संरचना फुट्ने र भत्किने अवस्थामा पुगेका छन्,” उनले भने, “वडा अध्यक्षको काम खेलकुद पूर्वाधार संरक्षण नभई कभर्डहलमा पस्ने पशु चौपाया धपाउने काममा सीमित भएको छ।”
तत्कालीन सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई, काभ्रेपलान्चोक र ठेक्का पाएको निर्माण कम्पनी सुनकोसी–गिरी जेभी काठमाडौँबिच लगातारको आरोप–प्रत्यारोपका कारण राज्यको करोडौँ रुपैयाँको लगानी अलपत्र बनेको अध्यक्ष कार्कीको भनाइ छ। अहिले तत्कालीन समयमा ठेक्का लगाउने कार्यालय सामाजिक विकास कार्यालय बनिसकेको छ ।
२ करोड ८५ लाखको काम ८५ लाखमा ठेक्का
सामाजिक विकास कार्यालय धुलिखेल, काभ्रेपलान्चोककी प्रमुख रनमाया फ्याकका अनुसार मन्थलीस्थित बहुउद्देश्यीय कभर्डहल वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८८० रुपैयाँ ५३ पैसामा निर्माण सुरु गरिएको हो । यसमध्ये अन्य संरचनाबाहेक करिब २ करोड ८५ लाख रुपैयाँ अटोमेटिक चियर जडानको लागि स्टिमेट गरिएको थियो ।
तर, सोही काम जम्मा ८५ लाख रुपैयाँमा गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले ठेक्का पाएको र काम पूरा गर्न नसक्दा योजना अलपत्र बनेको प्रमुख फ्याकले बताइन् । उनले भनिन, “२ करोड ८५ लाखको स्टिमेट रहेको अटोमेटिक चियर जडान गर्ने काम ८५ लाखमा ठेक्का पाएको हो । अहिले यही काम रोकिँदा योजना रोकिएको अवस्था छ । तर निर्माण व्यवसायीले काम गर्छु भन्ने प्रतिबद्धता जनाएका छन् । अरू कुनै विकल्प छैन, तोकिएको बजेटमै काम गर्नुपर्छ ।”

उनका अनुसार बाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सचिव स्तरीय निर्णयमार्फत २०८३ जेठ मसान्तसम्म काम सम्पन्न गर्ने गरी म्याद थपिएको छ । “सार्वजनिक खरिद नियमावलीको १४औँ संशोधन आएपछि तोकिएको म्यादभित्र सम्पन्न नभएका आयोजनामा निर्माण व्यवसायीले प्रतिबद्धता जनाएमा अवसर दिने व्यवस्था गरिएको छ,” प्रमुख फ्याकले भनिन्, “सोही प्रावधानअनुसार २०८३ जेठ मसान्तसम्म म्याद थपिएको हो ।” म्याद थपिएको पछिल्लो चरणमा कार्यालयका इन्जिनियर र निर्माण व्यवसायीबिच अटोमेटिक चियर जडानबारे छलफल भएको र त्यसपछि निर्माण व्यवसायीले काम अघि बढाइसकेको जानकारी दिएको प्रमुख फ्याकको भनाइ छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले मन्थलीको बहुउद्देश्यीय कभर्डहल योजना सम्पन्न गर्नका लागि देखिएका कानुनीलगायतका समस्याहरू समाधान गरी दसैँलगत्तै बाँकी काम सुरु गर्ने तयारी भइरहेको बताए।
उनले भने, “यो अहिले क्रोनिक प्रोजेक्ट बनेको छ । मन्त्रालयमै चर्चाको विषय बनेको यो आयोजना सम्बन्धमा म स्वयं अनुगमनमा आएँ । कानुनी जटिलता, निर्माण व्यवसायी र कार्यालयबिचको समन्वय, स्थानीय सरकारका धारणा सबै सुनेका छौँ । अब देखिएका समस्या समाधान गरेर दसैँपछि बाँकी काम सुरु हुन्छ ।”