रामेछापमा भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यु आदेश जारी

  • प्रकाशित मिति: बिहिबार, भाद्र २६ २०८२
  • तामाकोशी

रामेछाप हाल देशभर उत्पन्न परिस्थिति र रामेछाप जिल्लाको शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएकाले जिल्ला प्रशासन कार्यालयले कडा सुरक्षा कदम स्वरूप निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बिहीबारको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम बिहीबार साँझ ७ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरेका हुन्।



कर्फ्यु आदेशअनुसार मन्थली नगरपालिका–२ आकासे पुलदेखि दक्षिणतर्फ सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडक खण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानी मदौ CTEVT सम्म, मन्थली नगरपालिका–१ को सम्पूर्ण क्षेत्र र रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशङ्कर माध्यमिक विद्यालय तथा रामेछाप अस्पताल क्षेत्रसम्म कोही पनि व्यक्तिले आवतजावत, भेला, जुलुस वा हुलदङ्गा गर्न पाउने छैनन्।

त्यसै गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम शुक्रवार बिहान ६ बजेसम्म जिल्लाभर पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई जुलुस, विरोध प्रदर्शन वा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ। जिल्लाको शान्ति सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग प्रमुख जिल्ला अधिकारी थापाले आग्रह गरेका छन्।