रामेछापमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  • प्रकाशित मिति: बिहिबार, भाद्र २६ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा लागू गरिएको कर्फ्यु हटाई जिल्ला प्रशासन कार्यालयले नयाँ निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार भदौ २५ गते साँझ ६ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म लागू भएको कर्फ्यु आदेश परिस्थितिको मूल्याङ्कनपछि हटाइएको हो। तर सुरक्षालाई मध्यनजर गर्दै आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा कायम राखिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ (संशोधित) को दफा ६ को उपदफा ३(क) बमोजिम पाँच जना भन्दा बढी व्यक्तिहरू भेला भई जुलुस, हुलदङ्गा, प्रदर्शन वा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ।



आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

आदेशअनुसार मन्थली नगरपालिका–२ आकासे पुलदेखि सुकाजोर खोला पुलसम्म, मन्थली–खुर्कोट सडक खण्डको सोलमारीदेखि मदन आश्रित चोक हुँदै सानीमदौ CTEVT सम्मको क्षेत्रमा, मन्थली नगरपालिका–१ को सम्पूर्ण क्षेत्रमा तथा रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशङ्कर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्रमा कुनै पनि किसिमको भेला, जुलुस वा प्रदर्शन गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।