रामेछाप । रामेछापको मन्थली नगरपालिकाले मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका संयोजक लव श्रेष्ठको अध्यक्षतामा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णयअनुसार यही भदौ २० गते बिहान ७ बजे मदन आश्रित चोकमा जमघट भई कटहर बोट प्रहरी बिटसम्म प्रभातफेरी निकालिने र देवकोटा चोकमा सम्पन्न गरिनेछ । त्यसपछि बिहान ११ बजे मन्थली नगरपालिकाको सभा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने छ ।
यसै गरी नगरभित्रका सबै माध्यमिक विद्यालयमा “तीनै तहको सरकार मिली गरौँ हातेमालो : मानव बेचबिखन हटाऔँ, दुष्चक्रको जालो” विषयमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साथै, सबै १४ वडामा QR Code सहितका सन्देशमूलक होर्डिङ बोर्ड राखिने मन्थली नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको सफलताका लागि विद्यालय, नागरिक समाज र प्रहरी प्रशासनबिच समन्वय गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
