नेपालमाथि अझै पनि विदेशी हस्तक्षेप जारी : कमल चौलागाईँ

  • प्रकाशित मिति: शनिबार, भाद्र ७ २०८२
  • तामाकोशी

रामेछाप नेकपा (एमाले) पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपालमाथि अझै पनि विदेशी हस्तक्षेप जारी रहेको दाबी गरेका छन् ।

शनिवार रामेछापमा सम्पन्न एमालेको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै चौलागाईँले अन्तर्राष्ट्रिय शक्तिहरूले “केपी शर्मा ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल” बनाउन खोजिरहेको आरोप लगाए ।



उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको हालको सक्रियता पनि त्यही खेलको हिस्सा भएको बताए ।

‘अहिले चौतर्फी आक्रमण भएको बेला पार्टी अध्यक्षलाई हटाउनुपर्ने कुनै कारण छैन’, चौलागाईँले भने, ‘बाह्य हस्तक्षेपको प्रतिवाद गर्ने नेताका रूपमा केपी ओलीमाथि आक्रमण भएको हो, राष्ट्रहित विपरीत काम गरेको कारणले होइन ।’

भारतको नाकाबन्दीको सामना गर्नेदेखि चुच्चे नक्सा जारी गर्ने क्षणसम्म ओलीले दृढ भूमिकामा उभिएको स्मरण गर्दै उनले ओलीलाई बचाउनु राष्ट्रहितसँग जोडिएको कुरा भएको उल्लेख गरे ।

चौलागाईँले नेपालमा स्थिरता नआओस् भन्ने शक्तिहरू सक्रिय रहेको बताउँदै एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेका आरोप लगाए ।

‘हामीले २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने सम्भावना देखाएका छौँ, त्यसलाई रोक्न विभिन्न गतिविधि भइरहेका छन्’, उनले भने । त्यस्तै उनले पार्टीको जरा–केन्द्रित अभियानबाट सङ्कलित प्रतिवेदनलाई आधार बनाएर संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । ‘मुख्य केन्द्र पालिकालाई बनाउनुपर्छ, पालिकाले सक्षम नेतृत्व खोजेको छ’, चौलागाईँको भनाइ थियो ।