रामेछाप । रामेछापको मन्थली–खिम्ती सडक अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि बुधवार बिहानैदेखि सवारी–आवागमन रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार अहिले अटो र मोटरसाइकल मात्र आवत–जावत गर्न सकिरहेका छन् । ठुला सवारी साधन रोकिएका छन् । उनले सडक मर्मत सुरु भइसकेको बताउँदै “केही घण्टामै यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको” जानकारी दिए ।
गत वर्ष पनि सोही स्थानमा लेदो पसेर सडक बिग्रिएपछि जालीसहितको वाल उठाएर मर्मत गरिएको थियो । तर यस वर्ष तामाकोशी नदीले कटान गर्दा सडक भासिएको हो ।
रामेछापको अधिकांश गाउँलाई सदरमुकामसँग जोड्ने यो प्रमुख सडक अवरुद्ध हुँदा उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा गाउँपालिका र दोलखाबाट राजधानीतर्फ गएका यात्रुहरू बिचमै रोकिएका छन् ।