जनताको सुविधा लागि असारदेखि निरन्तर श्रमदानमा वडाध्यक्ष पौडेल

  • प्रकाशित मिति: सोमबार, भाद्र २ २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल असारदेखि एक दिन पनि फुर्सद पाएका छैनन्।

पौडेल दैनिक सडक मर्मत, पहिरो हटाउने र आवागमन सहज बनाउन स्थानीयसँगै श्रमदानमा सक्रिय हुनुहुन्छ। बिहान उज्यालो भएसँगै काँधमा गल, साबेल र गैँची लिएर सडकमा निस्कने उहाँ साँझ मात्रै घर फर्कनुहुन्छ।



वडाध्यक्ष पौडेलका अनुसार, “कमजोर भूबनोट र कच्ची सडकमा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण छ।

बाढी–पहिरोले बाटो बिग्रिन्छ, यातायात रोकिन्छ, एम्बुलेन्स समेत चल्दैन। यसकारण स्थानीय र वडाका अन्य जनप्रतिनिधिसँग मिलेर सडक सुचारु राख्न रातदिन खटिरहेका छौँ।” सडक मात्र होइन, पौडेल हिउँदभरि विद्युत्को तार फेर्न पनि श्रमदानमा जुट्नु भएको छ।

नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा वडाले प्लास्टिक कोटेड सुरक्षित विद्युत् तार जोडिसकेको छ।

पौडेलले आफ्नो जिम्मेवारीलाई व्यक्तिगत दायित्व मान्दै भन्नुभयो, “खाँदाखाँद माविको हेडमास्टरको जागिर छाडेर जनताको बिचमा काम गर्दा फरक मजा छ। यो कहिलेसम्म? जहाँसम्म आवश्यकता पर्छ, त्यतिबेलासम्म।”