रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा हाल लाखे नाचको माहौल छ। हरेक साँझ नेवार समुदायका युवायुवती र बालबालिकाले रङ्गिन मुखुण्डो, झ्याली तथा बाजाको तालमा लाखे नाच प्रस्तुत गर्दै बजारको वातावरण उत्सवमय बनाएका छन्।
नेवा: खल: र नेवाःदेय दबूँ रामेछापको संयुक्त आयोजनामा नाग पञ्चमीदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म लाखे नाचसहितका सांस्कृतिक कार्यक्रम हुँदै आएका छन्। यस अवधिमा गाईजात्रा, रोपाइँ जात्रा, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा विशेष प्रस्तुति हुने गर्दछ। जात्रा कृष्णाष्टमीको भोलिपल्ट कंसको वध गरिसकेपछि समापन गरिन्छ।
आयोजक नेवाःदेय दबूँ रामेछापका अध्यक्ष शेखरमान श्रेष्ठका अनुसार लाखे नाच, लौरो नाच, धिमे नाच, धिन्ताङ–घिसिङ, गाईजात्रा, भजन–कीर्तनजस्ता परम्परागत गतिविधि यस अवधिभर सञ्चालन भइरहेको छ। “लोक विश्वासअनुसार लाखेले बालबालिकालाई रोग महामारीबाट जोगाउने र समुदायमा समृद्धि ल्याउने मानिन्छ,” उनले भने।
मन्थलीमा लाखे नाच केवल नेवारी समुदायको सांस्कृतिक प्रदर्शन मात्र नभई समाजको एकता, सांस्कृतिक पहिचान संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले पनि आयोजना हुने वार्षिक महोत्सव बनेको आयोजकहरूको भनाइ छ।
सदरमुकामसहित चिसापानी, भँगेरी, ठोसेलगायत नेवार बस्तीमा पनि यस बेला लाखे नाचको रौनक फैलिएको छ। “नेवारी कला–संस्कृति पहिचान बचाऔँ, संस्कृति सभ्यता कायम राखौँ” भन्ने नारासहित सांस्कृतिक जागरणको अभियान चलाइरहेको छ।
