रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ र ३ जोड्ने अँधेरी खोलामा बाढीले पक्की पुल बगाएको एक वर्ष भयो । तर हालसम्म पुनर्निर्माणको काम सुरु हुन सकेको छैन। गत वर्षको भदौमा बाढीले पुल बगाएपछि स्थानीयहरू अझै जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य छन्।
ढोई गाउँस्थित पुल बगाएपछि त्यही सडक मार्ग प्रयोग गर्दै सदरमुकाम मन्थली तथा राजधानी काठमाडौँ आवतजावत गर्ने स्थानीयहरू सिधै खोलामै हिँड्न बाध्य छन्। थप समस्या के छ भने नजिकैको झोलुङ्गे पुलसमेत पहिरोले क्षति पु¥याएको छ। “कम्तीमा झोलुङ्गे पुल मर्मत भएको भए सजिलो हुन्थ्यो,” स्थानीय केशव थापाले भने, “तर त्यो पनि गरिएको छैन।”
वर्षा याममा खोलामा पानी बढ्दा यात्रा अझै कठिन हुने गरेको स्थानीय थिर बहादुर थापा मगरले बताए। उनका अनुसार पानी घट्दा डोजर लगाएर बाटो खुलाइन्छ, तर पानी परेपछि फेरि खोलाले बाटो बगाइदिन्छ। “पैदल यात्रीले समेत जोखिम मोल्नुपर्छ,“ उनले गुनासो गरे।
बाढीले बगाएको पुलको विकल्पका रूपमा हाल अस्थायी रूपमा काठको पुल बनाइएको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए । स्थानीय र शिक्षकहरू मिलेर मान्छे हिँड्न मिल्ने अस्थायी काठको पुल बनाएको उनको भनाइ छ । पुल पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको र पूर्वाधार विकास कार्यालयले नयाँ पुलको सर्वे समेत गरिसकेको अध्यक्ष मोक्तानले बताए।
गाउँपालिकामा सामान्य झरी परे पनि सवारी साधन ठप्प हुने अवस्था आउँछ। एम्बुलेन्ससमेत सञ्चालनमा कठिनाइ हुने भएकाले बिरामीलाई अस्पताल पु¥याउन जोखिमपूर्ण बन्ने गरेको छ।
दोरम्बा शैलुङ गाउँपालिकाले सडक तथा नाला निर्माणमा बजेट खर्च गर्दै आएको भए पनि हरेक वर्ष बाढीले ती संरचनाहरूमा क्षति पु¥याउने गरेको छ। “वार्षिक बजेटको ठुलो हिस्सा सडकमा खर्च हुन्छ, तर अहिले सम्म एक मिटर सडक पनि कालोपत्रे हुन सकेको छैन,” अध्यक्ष मोक्तानले भने।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा बागमती प्रदेश सरकारले गाउँपालिकाका लागि एक करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर अध्यक्ष मोक्तानको भनाइमा यस्तो ठाडो भूगोलमा त्यो बजेटले प्रभावकारी काम गर्न सम्भव छैन। स्थानीयले झोलुङ्गे पुलको तत्काल मर्मत र खोलामाथि अस्थायी वैकल्पिक संरचना निर्माण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग माग गरेका छन्।