रामेछाप । असार र साउन महिना किसानहरूका लागि व्यस्तता र आशाको समय हो। यही समयमा ‘मानो रोपेर मुरी फलाउने’ सपना साकार पार्न उनीहरू खेतमा पसिना बगाउँछन्। यो वर्ष रामेछापका किसानहरू तुलनात्मक रूपमा उत्साहित छन्, मुख्यतः समयमै परेको वर्षाले गर्दा।
गत वर्षहरूमा जस्तै केही खोला किनारका फाटहरूमा बाढीले क्षति गरे पनि समग्र जिल्लामा यो वर्ष रोपाइँको अवस्था सन्तोषजनक देखिएको छ। यो वर्ष राम्रो वर्षा भएका कारण पहिला कोदो वा मकै रोपिँदै आएका पाखे जमिनहरूमा समेत यसपालि धान रोपिएको मन्थली नगरपालिका–९ पुरानागाउँका राज श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “यो वर्ष खेत रोपाइँ गर्न पानीको समस्या भएन । गाउँमा काम गर्ने जनशक्ति र गोरुको मात्रै अभाव भयो । जे होस दुखम सुखम गरेर धेरे वर्षदेखि रोपाइँ हुन नसकेका खेतमा यो वर्ष धान रोपिएको छ । अब फल्ने चाहिँ कस्तो हो ।”
यो वर्ष रोपाइँ गर्न पानीको समस्या नभएको मन्थली नगरपालिका–८ चिसापनीका शम्भु खत्रीले बताउनुभयो । विगतका वर्षहरूलाई सम्झँदै उहाँले भन्नुभयो“यो वर्ष खेत रोपाइँ गर्न पानीको दुःख छैन । पानी नभएकै कारण बाझै बसेका खेतहरू पनि यो वर्ष धान रोपाइँ भएका छन् ।” अब वर्षाले निरन्तर साथ दिए उत्पादन राम्रो हुनेमा कृषकहरू ढुक्क रहेका उहाँले बताउनुभयो ।
रामेछाप जिल्लामा कुल ७ हजार ८ सय ५९ हेक्टर खेतमध्ये हालसम्म ७ हजार २ सय ३० हेक्टरमा धान रोपाइँ सम्पन्न भइसकेको कृषि विकास कार्यालय रामेछापका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी उपेन्द्र चौधरी कुर्मीले बताउनुभयो । यो कुल क्षेत्रफलको करिब ९२ प्रतिशत हो।
सुनकोशी, तामाकोशी, भटौली खोला, रणजोर जस्ता नदी तथा खोला किनारका फाटहरूमा रोपाइँ भएका छन् । त्यस्तै, आकाशे पानीको भरमा निर्भर पाखे खेतहरूमा पनि रोपाइँले गति लिएको छ। जिल्लाका हिमाली क्षेत्रहरू दोरम्बा शैलुङ र उमाकुण्ड गाउँपालिकामा असार दोस्रो सातासम्म नै रोपाइँ सकिएको छ । मन्थली, रामेछाप, लिखतामाकोशी, खाँडादेवी लगायतका पालिकाको विभिन्न ठाउँमा अझै पनि रोपाइँ जारी रहेको उहाँले बताउनुभयो ।