स्मृति दिवसमा पुष्पलालको जन्मथलो भंगेरीमा जनसाँस्कृतिक र श्रद्धाञ्जली कार्यक्रम

  • प्रकाशित मिति: बुधबार, साउन ७ २०८२
  • तामाकोशी

रामेछाप। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थान रामेछाप नगरपालिका–८ भंगेरीमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

नेकपा (एमाले) जिल्ला कमिटी रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा तथा एमाले नगर कमिटी रामेछापको व्यवस्थापनमा बुधवार आयोजित कार्यक्रममा विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रम नेकपा (एमाले) जिल्ला अध्यक्ष पुरुषोत्तम कँडेरियाको अध्यक्षतामा सम्पन्न भयो भने पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथि रहनुभयो।



कार्यक्रममा बोल्दै डा. भट्टराईले पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै, “देशमा समाजवाद उन्मुख जनताको पार्टी निर्माणमा उहाँको भूमिका ऐतिहासिक छ,” भन्नुभयो।

उहाँले पुष्पलालको स्मृतिमा निर्माण भइरहेको स्मृति पार्क लामो समयदेखि अलपत्र रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो र सरकारले योजना अनुसार यसको छिटो सम्पन्नतामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो। डा. भट्टराईले कम्युनिष्ट आन्दोलनको आधारभूमि भंगेरीलाई तीर्थस्थलको रूपमा विकास गर्ने सपना अधुरो नरहोस् भन्दै, आफू पनि सकेसम्म पहल लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्मृति पार्कको निर्माण आर्थिक वर्ष २०७७÷०७८ मा सुरु भएको थियो, जसको लागत ५५ करोड रुपैयाँ अनुमान गरिएको छ। तर, अहिलेसम्म जग्गा अधिग्रहण र केही संरचना बाहेक खास प्रगति देखिएको छैन।

स्थानीयको भनाइमा, सपना बिस्तारै जङ्गल र झारपातबिच हराउन थालेको छ। कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बा, प्रदेशस्तरीय नेताहरू, जनसंगठनका प्रतिनिधि, पत्रकार, कलाकार र सामाजिक अगुवासहित स्थानीयको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा उद्योग क्षेत्रका उद्यमी उमेश विक्रम थापा र कृषि क्षेत्रका कृषक रामबाबु साहलाई नगद प्रोत्साहनसहित सम्मान गरिएको थियो।