’पूर्ण खोप दिगोपना सुनिश्चितता’ घोषणा भयो रामेछाप

  • प्रकाशित मिति: बुधबार, असार २५ २०८२
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लाले खोप सेवामा निरन्तरता, प्रभावकारिता र पहुँचको महत्त्वपूर्ण सूचक मानिने ’पूर्ण खोप दिगोपना सुनिश्चितता’को उपाधि प्राप्त गरेको छ। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले बुधवार एक विशेष समारोहबिच रामेछापलाई औपचारिक रूपमा “पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला” घोषणा गर्नुभयो। यसअघि, रामेछाप जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले जिल्ला स्तरमा जेठ महिनाभित्रै घोषणा गर्ने निर्णय गरेको भए पनि कार्यान्वयनमा झन्डै एक महिनाको ढिलाइ भएको हो ।
जनस्वास्थ्य कार्यालय रामेछापको प्राङ्गणमा आयोजित कार्यक्रममा मन्त्री थापा मगरले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै, खोप सेवा लगायतका अन्य स्वास्थ्य सेवामा सुधार र विस्तारका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको । भक्तपुर र हेटौडा अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको टेलिमेडिसिन सेवा सञ्चालन गर्ने तयारी छ । प्रदेशभित्रका अन्य जिल्लाका अस्पतालहरूलाई यी दुई वटा अस्पतालबाट टेलिमेडिसिन सेवाका लागि सहजीकरण हुन्छ ।”
आगामी आर्थिक वर्षबाट पत्रकारको स्वास्थ्य बिमाको रकम मन्त्रालयले बेहोर्ने पनि उहाँले बताउनुभयो । जनस्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाका अनुसार, जिल्लाका आठ वटै स्थानीय तहमा १६–२३ महिनासम्मका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेका छन्। साथै, १५ महिनासम्ममा दिइने खोपको मात्रा पनि सम्पूर्ण रूपमा सुनिश्चित भएको प्रमाणित भएपछि रामेछापले यो उपाधि पाएको हो।
जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक चिना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो। उनीहरूले यस उपलब्धिलाई दिगो बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।