रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानी र वडा नं ९ पुरानागाउँका महिलाहरू कृषि र पशुपालनमा सक्रिय बनेका छन् । बाख्रा पालन, भैँसी पालन र टनेलमा गोलभेँडा खेतीजस्ता कृषि पेसामा समर्पित यी महिलाहरूले स्वावलम्बी महिला समूह गठन गरी सक्रियता बढाएका हुन् ।
चिसापानीमा ५ र पुरानागाउँमा ४ गरी कुल ९ वटा महिला समूह सक्रिय रहेका छन् । जसमा एउटा समूहमा २० देखि ३० जनासम्म महिलाहरू आबद्ध छन् । यी समूहलाई मन्थली नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा पहाडी समाज कल्याण केन्द्रले सजिकरण गरिरहेको छ ।
मन्थली नगरपालिका–८ रिट्ठे स्थित सक्रिय स्वावलम्बी महिला समूहकी रुद्रमाया सारुमगरका अनुसार, समूहमा आबद्ध महिलाहरूले बाख्रा र भैँसी पालन, तरकारी खेती लगायतका क्षेत्रमा आएका समस्याहरू सामूहिक छलफल मार्फत समाधान गर्दै सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छन् ।
“बाख्राको खोर बनाउन, भैँसीको थलो सुधार गर्न र टनेलमा गोलभेँडा खेतीका लागि नगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार समूहका दुई जना सदस्यले आधुनिक बाख्राको खोर निर्माण गरेका छन् ।
यसै समूहमार्फत ८ लाख रुपैयाँ मन्थली नगरपालिकाबाट र ५ लाख रुपैयाँ चिसापानी कृषि सहकारीबाट गरी १३ लाख रुपैयाँको लगानीमा दुग्ध तथा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ ।
पुरानागाउँको थानापति स्वावलम्बी महिला समूहकी युगमाया श्रेष्ठले यस कार्यक्रममार्फत महिलाहरूले कृषि र पशुपालन सम्बन्धी तालिम र सिप प्राप्त गरेको बताउनुभयो । त्यसै गरि उन्नत जातका बाख्रा र ब्याडका बोका समेत उपलब्ध गराएको उहाँको भनाइ छ ।
हेफर प्रोजेक्ट नेपालकी सामुदायिक सहजकर्ता सम्झना श्रेष्ठका अनुसार वडा नं ८ चिसापानीका ५ समूहमा १३२ जना र वडा नं ९ पुरानागाउँका ४ समूहमा १०१ जना महिला आबद्ध छन् । भैँसीको थलो सुधारका लागि वडा नं ८ मा २१ र वडा नं ९ मा ९ वटा स्थानमा सहयोग गरिएको छ । बाख्राको खोर निर्माणका लागि दुवै वडामा २५–२५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
त्यसै गरी दुवै वडामा ३–३ वटा उन्नत जातका ब्याडको बोका र ९–९ वटा बाख्रा समेत वितरण गरिएको छ । पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्न प्रसाद कँडेलका अनुसार मन्थली नगरपालिकाका सबै १४ वटै वडामा गरी हालसम्म ८४ भन्दा बढी स्वावलम्बी महिला समूहहरू गठन भएका छन् । महिलाहरूको यस्तो सामूहिक प्रयासले स्थानीय स्तरमा स्वरोजगार र आर्थिक सशक्तीकरणमा केही सहयोग पुगेको अध्यक्ष कँडेलको भनाइ छ ।
चिसापानी र पुरानागाउँमा कृषि र पशु पालनप्रति महिलाको आकर्षण बढ्दै
- प्रकाशित मिति: शुक्रबार, असार २० २०८२
- नवराज श्रेष्ठ