एमाले जनतामा भिजेको पार्टी हो, चौतर्फी घेराबन्दी चिर्न सशक्त प्रचार आवश्यक छ : महासचिव पोखरेल

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०८२
  • तामाकोशी

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले जनतामाझ गहिरोसँग भिजेको पार्टी भएको बताउनुभएको छ । हाल पार्टी र नेतृत्वविरुद्ध भइरहेका चौतर्फी घेराबन्दीलाई चिर्न सशक्त, विचारयुक्त र अपडेट प्रचार अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बिहीबार भक्तपुरमा बागमती प्रदेशस्तरीय प्रचार कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टीको सुदृढीकरणका लागि जनतासँग सिधा संवाद र भ्रमको चिरफार अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। “अहिले पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको छ। यसलाई चिर्न अत्यावश्यक छ,” पोखरेलले भन्नुभयो, “हामीले संगठन, विचार र जनसम्पर्कलाई अझ सबल बनाउँदै जनताबीच सत्य सन्देश पु¥याउनुपर्छ।”



उहाँले पार्टीलाई सहयोग पुग्ने गरी गहिरो विश्लेषण र यथार्थमा आधारित कन्टेन्टसहित प्रचार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, नेता तथा कार्यकर्ताहरू पार्टी र नेतृत्वप्रति मनमा रहेका प्रश्न र शंकाहरूमा स्पष्ट हुनुपर्ने र भ्रम चिर्न नेतृत्व र पार्टी निर्णय नै आधार हुने उहाँको भनाइ छ।

“प्रचारको काममा नेतृत्व गर्नेहरू धेरैभन्दा धेरै अपडेट हुनुपर्छ। भ्रम चिर्ने जिम्मेवारी नेतृत्व र पार्टी निर्णयको हो। त्यसलाई बुझेर प्रचारको दिशा तय गर्नुपर्छ,” पोखरेलले स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो समय राजावादी समूहहरूद्वारा चर्काइएको आन्दोलनप्रति टिप्पणी गर्दै भन्नुभयो, “राजावादीहरूको आन्दोलनबाट डराउनु पर्ने अवस्था छैन। बरु उनीहरूको प्रतिगामी एजेण्डाको प्रस्ट विरोध गर्नुपर्छ।” उहाँले संवैधानिक व्यवस्था र जनताले रोजेको गणतान्त्रिक मूल्यको रक्षा गर्न सबै सचेत कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यशालामा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रचार तथा प्रकाशन विभागका प्रमुख र सचिव, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष तथा सचिवहरु लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, संगठनात्मक सशक्तिकरण र जनस्तरसम्म पार्टी विचार पु¥याउने उपायबारे विस्तृत छलफल पनि गरिने आयोजकले जनाएको छ । कार्यक्रमको आयोजना नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले गरेको हो।