रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले शिक्षक कर्मचारी आन्दोलनले रोकिएको पठन पाठन आपूरण गर्न वर्षे र दसैँ बिदा कटौती गरेको छ ।
गाउँपालिकाको शैक्षिक सत्र २०८२ को वार्षिक शैक्षिक कार्य पात्रो अनुसार गत वैशाख ७ गतेबाट पठनपाठन सञ्चालन हुनुपर्ने हो । तर शिक्षक कर्मचारी आन्दोलनले १० दिन कार्य तालिका अवरुद्ध भएको थियो ।
यही विषयलाई लिएर मङ्गलवार बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अवरुद्ध भएको १० दिनको असुल वर्षे र दसैँ बिदाबाट गर्ने निर्णयको गरेको हो । बैठकले शिक्षक आन्दोलनका कारण कार्य तालिकामा अवरुद्ध भएको १० दिनलाई आपूरण गर्न कार्य तालिकामा संशोधन गरी असार २० गते सम्म पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका शिक्षा अधिकृत ङावा शेर्पाले बताउनुभयो ।
उहाँले भन्नुभयो“ शिक्षक आन्दोलनले अवरुद्ध भएको १० दिनलाई आपूरण गर्न वार्षिक कार्य तालिकामा संशोधन गरिएको छ । साउन १ देखि साउन १७ गतेसम्म वर्षे बिदा गर्ने बैठकले निर्णय गरेको छ ।
असोज महिनाको कार्य तालिकामा घटस्थापनादेखि दसैँ बिदा राखिएकोमा शैक्षिक आपूरण गर्न असोज ९ गतेसम्म पठनपाठन गरी असोज १० बाट दसैँ बिदा गर्ने निर्णय भएको छ ।” उहाँका असार २२ देखि २९ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरी असार ३२ गते नतिजा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले शिक्षक कर्मचारीहरिको हाजिरी चुस्त दुरुस्त राख्ने, बिदामा बस्दा अनिवार्य प्रधानाध्यापकबाट बिदा स्वीकृत गरी बस्ने, बिदा सहुलियत भएको हुँदा अनिवार्य नगर्ने, नियम अनुसार पाउने बिदा भन्दा बढी बिदामा बसे नियम अनुसार नै गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।
विद्यालयहरूले गाउँपालिकाबाट प्राप्त योजनाको कार्यान्वयन अविलम्ब सम्पन्न गरी भुक्तानीको लागि जेठ २२ गतेभित्र आवश्यक कागजातहरू सहित फरफारक लागि शाखामा पेस गर्नुपर्ने निर्णय पनि बैठकले गरेको पनि उहाँले बताउनुभयो ।
भौगोलिक रूपमा रामेछापकै सबै भन्दा ठुलो उमाकुण्ड गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक सुधार अभियान सञ्चालन गरिरहेको छ । यो गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरेको तीन करोड रुपैयाँ भन्दा बढी बजेट कार्यान्वयन अन्तिम चरणमा रहेको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।