रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका सम्पन्न भएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको पुरुष तर्फको उपाधि चण्डेश्वरी यूथ क्लब प्रीतिले जितेको छ । महिला तर्फको उपाधि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले जितेको छ ।
खेलकुद विकास समिति उमाकुण्डको आयोजना¸ वडा नं ४ को सह प्रयोजन र उमाकुण्ड गाउँपालिका वडा नं ४ खेलकुद विकास समितिको व्यवस्थापनमा वैशाख २३–२७ गतेसम्म प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा पुरुष तर्फको विजेता चण्डेश्वरी यूथ क्लब प्रीतिले नगद एक लाख ३० हजार सहित शिल्ड¸ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता बनेको आकासे व्वाइज क्लब मन्थलीले नगद ९० हजार सहित ट्रफि¸ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सेमिफाइनलमा प्रवेश गर्ने दुई टिम हिल भ्यु एफसी रामेछाप र मिलन चोक यूथ क्लब प्रीतिले ३० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुष समूह तर्फ प्रतियोगिताका सर्वोकृष्ट खेलाडी आकाशे ब्वाइज क्लब मन्थलीका रामकृष्ण माझीले नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नु भएको छ ।सर्वाधिक गोलकर्ता आकाशे ब्वाइज क्लब मन्थलीका करण खड्का, उत्कृष्ट गोलकिपर तथा खेलको म्यान अफ दि म्याच चण्डेश्वरी यूथ क्लबका निशान थापा मगरले जनही ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेका छन् ।
महिला तर्फको उपाधि ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले जित्दा उमाकुण्ड गाउँपालिका–७ भुजिले उपविजेता मै चित्त बुझाएको छ ।
महिला तर्फको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै गरी तेस्रो र चौथो स्थान हासिल गर्ने उमाकुण्ड गाउँपालिका–४ प्रीति र चण्डेश्वरी यूथ क्लब प्रीतिले क्रमशः नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । महिला तर्फ सर्वोकृष्ट खेलाडी बनेकी उमाकुण्ड गाउँपालिका–४ प्रीतिका साने वाइबाले नगद ३ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरिन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता खिजिदेम्बा गाउँपालिकाकी निशा कुमारी मगर, उत्कृष्ट गोलकिपर भुजीकी झरना नगरकोटी र स्थानीय राइजिङ खेलाडीमा चण्डेश्वरी यूथ क्लबकी गोलकिपर सलिना खुलालले जनही दुई हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरेका छन् । खुल्ला अन्तरपालिका पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुष तर्फ ९ टिम र महिला तर्फ ४ टिमको सहभागिता रहेको थियो ।