दोलखा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले प्रेस चौतारी नेपालले यो वर्षलाई प्रशिक्षण वर्षका रूपमा लिएको बताउनु भएको छ । शनिवार दोलखाको जिरीमा भएको प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रेस चौतारीमा आबद्ध पत्रकारहरूलाई सङ्गठन, पार्टी र अहिलेको अवस्थाको बारेमा विशेष प्रशिक्षण आवश्यक ठानेर नै चौतारीले यो वर्षलाई प्रशिक्षण वर्षका रूपमा लिएर देशव्यापी रूपमा प्रशिक्षण मूलक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँको भनाइ छ ।
प्रशिक्षण खास गरी वैचारिक, क्षमता अभिवृद्धि र संगठनमा नयाँ पत्रकारहरू उत्पादन गर्ने उद्देश्यले देशभर सञ्चालन हुने उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेले केन्द्र र प्रदेशको निर्देशनको पालना सहित धेरै भन्दा धेरै रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्न जिल्ला अध्यक्षहरूलाई निर्देशन दिनुभयो ।
प्रेस चौतारी नेपालले विश्वका २५ भन्दा बढी देशका कम्युनिष्ट पार्टीका पत्रकारहरुसँग सम्बन्ध विस्तार गर्न यो वर्ष अन्तर्राष्ट्रिय मिडिया फेस्टीवल गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो ।
देशभरका प्रेस चौतारी कर्मीहरूको वास्तविक तथ्याङ्क राख्न प्रेस चौतारीले देशव्यापी रूपमा सदस्यता अद्यावधिक तथा शुद्धीकरण अभियान सञ्चालनको तयारी गरिरहेको उहाँले बताउनुभयो । चौतारीले पार्टीले सञ्चालन गर्ने गतिविधिको समाचार लेख्न प्रत्येक जिल्लामा एक जना र सामाजिक सञ्जालबाट पार्टीमाथि भइरहेको घेराबन्दी चिर्न हरेक जिल्लामा तीन जना प्रेस चौतारीकर्मी परिचालन गर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।