शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

  • प्रकाशित मिति: बिहिबार, बैशाख २५ २०८२
  • तामाकोशी

रामेछाप । पछिल्लो समय शल्यक्रिया मार्फत बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो मात्रामा छ । रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली अस्पतालमा सुत्केरी हुने महिलामा शल्यक्रिया मार्फत बच्चा जन्माउनेको सङ्ख्या बढेको पाइएको हो ।

मन्थली अस्पतालको आर्थिक वर्ष २०७८÷०८९ देखि हालसम्म ७१७ जना महिला सुत्केरी भएका छन् । त्यस मध्ये १३९ जना महिलाले शल्यक्रिया गरेर बच्चा जन्माएका छन् ।



विगतका तीन वर्षको तथ्याङ्कलाई हेर्दा शल्यक्रिया मार्फत बच्चा जन्माउने महिलाको सङ्ख्या बढेको मन्थली अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो “विगत केही वर्षदेखि शल्यक्रिया मार्फत सुत्केरी हुने महिला बढेका छन् । आर्थिक वर्ष २०७९÷८० मा २९ जनाले शल्यक्रिया मार्फत बच्चा जन्माए । आर्थिक वर्ष २०८०÷८१ मा ६६ जना पुग्यो । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म शल्यक्रिया मार्फत ३८ जना भन्दा बढी महिलाले बच्चा जन्माएका छन् ।”

चालु आर्थिक वर्षको हालसम्म मन्थली अस्पतालमा १४० जना महिला सुत्केरी भएकोमा ३८ जना भन्दा बढीले शल्यक्रिया मार्फत बच्चा जन्माएको उहाँले बताउनुभयो ।

मन्थली अस्पतालमा आर्थिक वर्ष २०७८÷७९ मा १५७ जना महिला सुत्केरी हुँदा ६ जनालाई शल्यक्रिया मार्फत सुत्केरी भएका थिए ।
आर्थिक वर्ष २०७९÷८० मा २१५ जना सुत्केरी मध्ये २९ जनालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको थियो । त्यसै गरी आर्थिक वर्ष २०८०÷८१ मा २३८ जना महिला सुत्केरी भएकोमा ६६ जनालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको मन्थली अस्पतालको तथ्याङ्कमा छ ।