रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले सानातिना हावा हुन्डरीले काँग्रेस एमाले मिलेर बनेको वर्तमान सरकार नढल्ने बताउनुभएको छ ।
बुधवार प्रेस चौतारी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ढुङ्गेलले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो“अहिले सरकारका विरुद्धमा विभिन्न गतिविधिहरू भइरहेका छन् । तर वर्तमान सरकार लोकतन्त्र, न्याय र समाजवादको बाटोमा जानका लागि एमाले र काँग्रेसको अभियान हो । सानोतिनो हल्ला खल्ला, हावा हुन्डरी र भूकम्पले यो धरोहर ढल्छ भन्ने लाग्दैन । यो बलियो छ ।”
अहिलेको सरकार र व्यवस्थालाई नै बिगार्न सकिन्छ कि भन्ने खालका खेलहरू धेरै भइरहेको उहाँले बताउनुभयो । यी सबै कुराहरूलाई बुझेर नै अहिलेको सरकारले आफ्ना गतिविधिहरूलाई अगाडी बढाइरहेको उहाँको भनाइ छ ।
यो मुलुकमा राणाकलादेखि आजसम्मको अवस्थालाई हेर्दा त्याग तपस्याको हिसाबले र राजनीतिक अधिकारको लडाइको हिसाबले काँग्रेस र एमालेको अभियानलाई सानातिना समस्याले असर नगरेको उहाँले बताउनुभयो ।
राजावादी भन्नेहरूको गतिविधि राम्रो छैन भन्ने आम नागरिकले बुझिसकेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“राजावादीहरूले एउटा कार्यक्रम गरे । त्यो कार्यक्रमको रिजल्ट तुरुन्तै आइहाल्यो । कसैका पसल तोड्ने । कसैको घरमा आगो लगाउने । प्रहरीलाई गाडी किचेर मार्न खोज्ने । जथाभाबी गर्ने जस्ता गतिविधि गरेपछि यो राम्रो होइन भन्ने जनताले बुझिसकेका छन्।”
नेपाली काँग्रेस र नेपालमा एमालेले अधिकारीको लडाइ लड्दा विगतमा धेरै सडक आन्दोलनहरू भए पनि यस्ता अराजक गतिविधिहरू नभएको उहाँको दाबी छ ।
अहिले यो सरकारलाई गिराउन र संविधान नै उल्टाउनका लागि गरिएका प्रयासहरू काम लाग्दैन भन्ने कुरा नेपाली जनताले बुझिसकेको उहाँले बताउनुभयो ।
अहिले नेकपा एमालेले सांगठनिक निखरता ल्याउनका लागि सुरु गरेको जरा अभियान अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । यो अभियानले पार्टीलाई बलियो बनाउनका लागि ठुलो टेवा पुगेको उहाँको विश्वास छ ।