रामेछाप । शुक्रवार राति आगलागीबाट पीडित बनेका मन्थली नगरपालिका–११ गजपानीका फस्टबहादुर श्रेष्ठको परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । शनिवार मन्थली नगरपालिका सहित विभिन्न निकायले घटनास्थलमा पुगेर राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ सहित पुगेका टोलीले नगरपालिकाको तर्फबाट जस्तापाता, खाद्यान्न सहित विभिन्न राहत सामाग्री हस्तान्तरण गरेको छ ।
आगलागी पीडितलाई तत्काल बसोबास र खानपिन गर्न आवश्यक खाद्यान्न, जस्तापाता लगायतका सामाग्री प्रदान गरिएको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो“आगलागीबाट फस्टबहादुर श्रेष्ठको परिवार पीडित बनेको छ । यो अवस्थामा उहाँलाई सबैको सहयोगको आवश्यकता छ । हामीले नगरपालिकाको तर्फबाट तत्काल आवश्यक पर्ने खाद्यान्न, जस्तापाता लगायतका सामाग्री उपलब्ध गराएका छौँ ।”
यसै गरी जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, रामेछाप उद्योग वाणिज्य संघ र मन्थली बचत तथा ऋण सहकारी संस्थाले पनि खाद्यान्न, ओढ्ने ओछ्याउने, त्रिपाल, भाडा बर्तन र अन्य अत्यावश्यक सामाग्रीहरू पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
आगलागीबाट पीडित बनेका परिवारलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गर्न जिल्ला स्थित सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गर्ने काम थालेका छन् । नेपाली सेना, नेपाल प्रहरी लगायतका टोलीले अस्थायी आवास निर्माणको काम थालेको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो“आगलागीबाट ठुलो क्षति भएको छ । तर यकिन क्षतिको विवरण आउन बाकी छ । पीडित परिवारलाई अस्थायी रूपमा बसोबास गर्ने अस्थायी आवास निर्माणको काम भइरहेको छ । नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन र जनप्रतिनिधि लगायतका टोलीले काम गरिरहेको छ ।”
शुक्रवार राति विद्युत् सर्ट भई आगो लाग्दा श्रेष्ठका दुई घर जलेर नष्ट भएका थिए । आगलागीबाट नगद ६ लाख ५० हजार रुपैयाँ, सुनचाँदीका गहना, २५ वटा खसी बाख्रा, अन्न र लत्ता कपडा जलेका थिए । राति साँढे ९ बजेदेखि सुरु भएको आगो शनिवार बिहान साँढे ३ बजे मात्र नियन्त्रणमा आएको थियो ।
रामेछाप गजपानीका आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान
- प्रकाशित मिति: शनिबार, बैशाख १३ २०८२
- तामाकोशी