रामेछाप । रामेछापमा विद्युत् सर्ट हुँदा दुई घर जलेर नष्ट भएका छन् भने आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । शुक्रवार राति मन्थली नगरपालिका–११ गजपानी स्थित फस्टबहादुर श्रेष्ठको घरमा बिद्युत् सर्ट भई आगलागी हुँदा दुई घर जलेर नष्ट भएका हुन् ।
राति ९ बजेतिर भएको आगलागीबाट दुई वटा घर पूर्ण रूपमा जलेको मन्थली नगरपालिका–११ का वडा अध्यक्ष भीमबहादुर थापा मगरले बताउनुभयो । आगो निभाउने क्रममा घाइते भएका फस्टबहादुर र बेहोस भएकी उहाँकी श्रीमतीलाई उपचारका लागि एम्बुलेन्समा राति नै सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल ल्याएर उपचार गरिएको उहाँले बताउनुभयो । अहिले दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आगोले दुई घर र घरमा रहेका सुन चाँदी र नगद, अन्न पात र लत्ता कपडा सबै जलेका छन् । आगलागीबाट २५ वटा भन्दा बढी बाख्रा र गोरु पनि जलेको वडा अध्यक्ष मगरले बताउनुभयो । २ वटा भैँसी भने फुकाएर धपाउन भ्याएकाले जोगिएका छन् । स्थानीय बासिन्दा र प्रहरी समेतको सहयोगमा बिहान साँढे ३ बजे आगो नियन्त्रणमा आएको थियो । अहिले आफूहरू घटना स्थलमा पुगेर क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।