स्थानीय तहको वित्तीय जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका पहिलो

  • प्रकाशित मिति: बुधबार, बैशाख १० २०८२
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा जिल्लामै पहिलो भएको छ ।

स्थानीय तह वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहहरूले मूल्याङ्कन प्रणालीमा अपलोड गरेका कागजातहरूको आधारमा आर्थिक वर्ष २०८०÷८१ को वित्तीय जोखिमको अवस्था मूल्याङ्कनमा ९१ अङ्क प्राप्त गरी मन्थली नगरपालिका पहिलो भएको हो ।



खाँडादेवी गाउँपालिका जिल्लाका आठ वटा पालिकामध्ये सबै भन्दा कम ६३ अङ्क प्राप्त गरी अन्तिम आठौँ स्थानमा परेको छ ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न वित्तीय जोखिमको अवस्था मूल्याङ्कन हुँदै आएको छ ।
सार्वजनिक नतिजा अनुसार ८८ अङ्क प्राप्त गरी उमाकुण्ड गाउँपालिका दोस्रो र रामेछाप नगरपालिका ८०.५० अङ्क प्राप्त गरी तेस्रो बन्दा सुनापति गाउँपालिका ७३ अङ्क प्राप्त गरी चौथो बनेको छ ।

त्यसै गरी ७२ अङ्क प्राप्त गरी गोकुलगंगा गाउँपालिका पाँचौँ, ६६ अङ्क प्राप्त गरी लिखुतामाकोशी गाउँपालिका छैटौँ बन्दा ६५.५० अङ्क प्राप्त गरी जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका सातौँ स्थानमा परेको छ । यो मूल्याङ्कनले रामेछापको खाँडादेवी गाउँपालिकामा सबै भन्दा बढी र मन्थली नगरपालिकामा सबै भन्दा कम वित्तीय जोखिम रहेको देखाएको छ ।