पुरानागाउँ स्वास्थ्य चौकीको घरमै स्वास्थ्य सेवा अभियान

  • प्रकाशित मिति: मंगलबार, चैत्र २५ २०८१
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाउँ स्वास्थ्य चौकीले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उक्त स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरूले सर्वसाधारणलाई घरमै पुगेर स्वास्थ्य परीक्षण, उपचार लगायतको सेवा प्रदान गरिरहेको छ ।
स्वास्थ्यकर्मीहरूले नागरिकका घरमा नै पुगेर रक्तचाप, तौल लगायतको परीक्षण गरी औषधी सेवा पनि प्रदान गर्दै आएको पुरानागाउँ स्वास्थ्य चौकी इन्चार्ज राजकुमार आरणले बताउनुभयो ।
गाउँमा रहेका विशेष गरी वृद्ध वृद्धा र बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर पुरानागाउँ स्वास्थ्य चौकीले हरके महिनाको एक दिन घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा सञ्चालन गर्दे आएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो“अहिले गाउँका धेरै घरहरूमा वृद्ध वृद्धा मात्रै हुनुहुन्छ । उहाँहरूलाई सामान्य स्वास्थ्य समस्या हुँदा स्वास्थ्य संस्थासम्म हिँडेर पुग्न गारो नै हुन्छ । यही कुरालाई ध्यानमा राखेर हामीले महिनाको एक दिन नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने अभियान सुरु गरेका हौँ ।”
यो अभियानका क्रममा नागरिकहरूको रक्तचाप, तौल लगायतको परीक्षण गरी स्वास्थ्य सम्बन्धी सचेतना समेत प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।