रामेछाप । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका २५० भन्दा बढी पर्यटक रामेछापको मन्थलीमै रोकिएका छन् । आज ९बिहीबार० बिहान पाँच वटा उडान भएपछि खुम्बु क्षेत्रको मौसममा खराबी आएपछि मन्थली–लुक्ला उडान हुन सकेन । बिहान पाँच वटा उडान भएपछि अन्य उडान हुन नसकेको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।
खुम्बु क्षेत्रमा मौसम खराब भएपछि विमान उडान हुन नसकेर दिउँसो हेलिकप्टर मार्फत पर्यटकहरू फाप्लु र लुक्ला लगायतका ठाउँमा पुगेको उहाँले बताउनुभयो । आज हेलिकोप्टर मार्फत ४५ जना लुक्ला र ४७ जना फाप्लु पुगेको उहाँले बताउनुभयो । बिहान भएका पाँच वटा उडान मार्फत ९३ जना पर्यटक लुक्ला पुगेको उहाँले बताउनुभयो । आज सीता एयरको दुई वटा उडान रोकिएको र अन्यको पनि बुकिङ भएको आधाआधी उडान रोकिएकाले २०० देखि २५० पर्यटक मन्थलीमा रोकिएको हुनसक्ने विमान स्थल प्रमुख शाहको अनुमान छ ।
उहाँका अनुसार हिजो बुधवार मौसम सफा रहँदा २१७ जना पर्यटक लुक्ला पुगेका थिए । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई रामेछापको मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
नागरिक उड्डयन प्राधिकरण मन्थलीका अनुसार मन्थली विमान स्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजहरूले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । एउटा उडान मार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुग्ने गरेका छन् । बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा एक दिनमा ६० वटा सम्म मन्थली– लुक्ला उडान हुने गरेको छ ।
सिजनमा बिहानदेखि बेलुकासम्म मौसम खुलेको समयमा दैनिक ६० वटा सम्म मन्थली– लुक्ला उडान मार्फत ८५० जना बढी पर्यटक लुक्ला पुग्ने गरेका छन् ।