रामेछाप । नेकपा (एमाले) रामेछापले पार्टीले सञ्चालन गरेको वडा केन्द्रित तीन महिने पार्टी निर्माण (जरा) अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।
जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा पार्टी पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाइँको प्रमुख आतिथ्यतामा यही चैत १७ र १८ गते सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
पार्टी केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश कमिटी सदस्य तथा वाग्मती प्रदेश वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल सहितको सहभागितामा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
रामेछाप भूगोलबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका नेताहरू, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी, जनसंगठनका जिल्ला अध्यक्ष लगायतका नेताहरू समेतको उपस्थितिमा बसेको बैठकले विभिन्न ७ वटा निर्णयहरू गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख श्रेष्ठले मङ्गलवार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विस्तारित बैठकले वडा केन्द्रित तीन महिने पार्टी निर्माणको अभियान जिल्ला कार्य योजना पारित गरेको छ । बैठकले अभियान अन्तरगत सञ्चालन भएका कार्यक्रमको समीक्षा गरी पहिलो चरणको कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ । बैठक एमाले प्रति जनताको विश्वास छ र एमालेको नेतृत्व प्रति जनताको भरोसा छ भन्ने निष्कर्ष निकालेको छ ।

चौथो विस्तारित बैठकले गरेको निर्णय हेर्नुहोस्
