पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आक्रमण विरुद्ध अन्तरक्रिया

  • प्रकाशित मिति: मंगलबार, चैत्र १८ २०८१
  • तामाकोशी

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणका घटना विरुद्ध तय गरेको पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत जिल्ला शाखा रामेछापले मङ्गलवार पत्रकारहरूको सरोकारवाला संघ संगठनहरूसँग अन्तरक्रिया गरेको हो ।
रामेछाप शाखाका अध्यक्ष दीपक कुमार घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य नबराज पथिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् ।
केन्द्रीय सदस्य पथिकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गरी सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाई स्वतन्त्रता पूर्वक लेख्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।



पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, पूर्व अध्यक्षहरु रमेश ढुङ्गेल, टिका प्रसाद भट्ट, हिमाल ढुङ्गेलले पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई कारबाही गरी निधन भएका पत्रकारको परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
आन्दोलनका नाममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याई क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउनुपर्ने उहाँहरूको माग छ । पछिल्लो समय विश्वमा पत्रकारहरूको हत्याका घटना बढ्नु दुःखद कुरा भएको उहाँहरूको भनाइ छ ।

पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले यही चैत १५ गते काठमाडौँको तीनकुने स्थित एक घरबाट भिडियो खिचिरहेका क्यामरा पर्सन पत्रकार सुरेश रजकलाई घरभित्र थुनी आगो लगाएर हत्या गरिएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय र कान्तिपुर टेलिभिजनको भवनमा क्षति पु¥याइएको बताउनुभयो । त्यसै गरी हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी पत्रकारको ज्यान लिने प्रयास गरेको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरोज तामाङको क्यामेरा लुटिएको लगायतका घटना भएको उहाँले बताउनुभयो ।

यी सबै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याई पीडितलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक लगायतका पत्रकारहरूले समाचारको भिडियो खिचिरहेका पत्रकारको आगो लगाएर हत्या गरिएको घटनाले देशभरका पत्रकार र सञ्चार माध्यमले असुरक्षाको महसुस गरेको बताउनुभयो ।
यस्ता घटना फेरी हुन नदिन र घटनाको पीडकलाई कारबाही अनि पीडितलाई न्याय दिलाउन पत्रकार महासंघले अझै सशक्त आन्दोलनका कार्यक्रम गर्नुपर्ने उहाँहरूको सुझाव छ ।