रामेछाप । नेकपा एमाले रामेछापले सदरमुकाम मन्थलीमा प्रतिगामी तथा अराजक प्रवृत्तिका विरुद्ध जनप्रदर्शन गरेको छ । सोमबार मन्थलीमा एमालेले प्रतिगामी तथा अराजक प्रवृत्तिका विरुद्ध र गणतन्त्रको रक्षा अनि विकासको पक्षमा जनप्रदर्शन गरेको हो ।
एमालेले मन्थली कटहर बोट स्थित पार्टी कार्यालयबाट देवकोटा चोक, बिपी चोक हुँदै मदन आश्रित चोकसम्म जनप्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी एमालेका नेता कायकर्ताहरूले पूर्व राजा ज्ञानेन्द्र शाहका विरुद्धमा नारा लगाएका थिए ।
यही चैत १५ गते राजावादी भनिएकाहरूबाट भएका अराजक गतिविधिहरूलाई लक्षित गरी यस्ता गतिविधिहरूको विरुद्धमा विभिन्न नारा नारा लगाएका थिए । गत शुक्रवार राजावादीले राजधानी काठमाडौँमा हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका उद्दण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकलाप गरेको भन्दै उक्त क्रियाकलापको विरुद्धमा जनप्रदर्शन गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले बताउनुभयो ।
प्रदर्शनमा रामेछापमा रहेका आठ वटै पालिकाबाट नेता, कार्यकर्ता र गणतन्त्र अनि विकासको पक्षमा रहेका सर्वसाधारणहरुको सभागिता रहेको एमाले रामेछापले जनाएको छ ।
