एमाले सबै खालका अप्ठेरालाई चिरेर अघि बढ्न सक्ने पार्टी हो : अध्यक्ष कडरिया

  • प्रकाशित मिति: आइतबार, चैत्र १६ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जस्तो सुकै परिस्थितिको सामना गर्न सक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै रहेको बताउनुभएको छ ।

आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै अध्यक्ष कडरियाले यस्तो बताउनुभएको हो । गत शुक्रवार काठमाडौँका विभिन्न ठाउँमा राजावादी भनिएकाहरूले मच्चाएको आतङ्क लगायतका घटनाप्रति लक्षित गर्दै अध्यक्ष कडरियोले एमालेसँग जस्तो सुकै परिस्थिति र घटनाक्रमको सामना गर्न सक्ने सामथ्र्य रहेको बताउनुभयो ।



उहाँले नेकपा एमाले निरन्तर देशी, विदेशी शक्तिको आक्रमणको निशाना बन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा एमालेमाथि सरकारमा हुँदा मात्र होइन प्रतिपक्षमा रहँदा समेत चौतर्फी आक्रमण हुँदै आएको छ । यसका बिचमा पनि नेकपा एमाले जनताको सबैभन्दा प्रिय पार्टी र देशको सबैभन्दा ठुलो पार्टी बनेको छ ।’,

पार्टी भित्रै पनि थुप्रै समस्या र चुनौती रहेका बताउँदै उहाँले नेकपा एमाले निरन्तर यसलाई चिर्दै अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । एमाले सबै खालका अप्ठेरालाई चिरेर अघि बढ्न सक्ने पार्टी भएको कडरियाले दाबी गर्नुभयो । एमाले रामेछापले सञ्चालन गरेको जरा अभियानबाट स्थानीय स्तरका धेरै समस्या पार्टीले पहिचान गरेको कडरियाले बताउनुभयो ।

ती समस्या समाधानको लागि नेकपा एमाले निरन्तर लाग्ने उहाँले बताउनुभयो । जरा केन्द्रित अभियानका क्रममा गाउँमा मानिसहरू कम भेटिएका बताउँदै उहाँले सहरी करणको चरणमा यस्तो खालेको समस्या आउने बताउनुभयो । यसको लागि गाउँमा नै अवसर सिर्जना गरी बजारीकरण तर्फ लैजाने योजना ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

केन्द्र र प्रदेश सरकारबाट साना साना योजना विनियोजन हुँदा ठुला खालका विकासका काम हुन नसकेका भन्दै उहाँले त्यस तर्फ प्रदेश र केन्द्र सरकारको ध्यान जानु पर्ने बताउनुभयो ।