रामेछाप । २०६६ साल वैशाख १० गते बिहीबार रामेछाप नगरपालिका–८ स्थित वादीपाखा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो लाग्यो । फैलिँदै गएको डढेलोले रामेछाप अस्पताल उच्च जोखिममा परेपछि नियन्त्रण लिन नजिकै रहेको श्रीजंग गणबाट नेपाली सेनाको टोली खटिए । डढेलो निभाउने क्रममा चारै तिरबाट डढेलो लागेपछि १३ जना नेपाली सेनाको जङ्गलमै जलेर ज्यान गयो ।
वनमा लागेको आगो निभाउने प्रयास गर्दा गर्दै ज्यान गुमाएका सैनिक सम्झनामा निर्माण गरिएको सैनिक स्मृति पार्क उद्घाटन हुन नसकेर अलपत्र बनेको छ । आर्थिक वर्ष २०७९÷०८० मा डिभिजन वन कार्यालय रामेछापको २५ लाख रुपैयाँ बजेटबाट रामेछाप नगरपालिका–८ स्थित वादीपाखा सामुदायिक वन क्षेत्रमा लागेको डढेले निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकहरूको सम्झनामा घटना भएको ठाउँ नजिकै सैनिक स्मृति पार्क निर्माण गरिएको छ ।
रामेछाप अस्पतालको गेट सिलिखान चोकमा स्थानीय उपभोक्ता समितिले निर्माण गरी डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको दुई वर्ष पुग्न लाग्दा पनि यो सैनिक स्मृति पार्क सञ्चालनमा उद्घाटन हुन नसकेको स्थानीय जीवन श्रेष्ठले बताउनुभयो । यो पार्क सञ्चालन गर्ने विषयमा डिभिजन वन कार्यालय, रामेछाप नगरपालिका र नेपाली सेना एकले अर्कोलाई दोष दिँदै आएको र जिम्मेवार निकायको यस्तो प्रवृत्तिले आगो निभाउने प्रयास गर्दागर्दै ज्यान गुमाएका सैनिकहरूको योगदानको अवमूल्यन र अपमान भएको उहाँको भनाइ छ ।
उपभोक्ता समितिबाट निर्माण भई हस्तान्तरण भइसकेको यो पार्क डिभिजन वन कार्यालय रामेछाप, नेपाली सेना र स्थानीय सरकारको बिचमा कुरा नमिलेकै कारण सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।
आगो निभाउने क्रममा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा दुई वर्ष अगाडि नै बनाइएको स्मृति पार्क उद्घाटन हुन नसक्नु राम्रो विषय नभएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर प्रसाद जयसवालले बताउनुभयो । डिभिजन वन कार्यालयले २५ लाख रुपैयाँ बजेटमा निर्माण गरेको यो पार्क उद्घाटन गर्ने विषयमा डिभिजन वन कार्यालयको कुनै दाबी तथा विरोध नरहेको समेत उहाँले बताउनुभयो ।
पार्क निर्माण भएपछि तत्कालीन समयमा नेपाली सेना कै कारण उद्घाटन हुन नसकेको रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपानेले बताउनुभयो ।
