पत्रकारलाई परिचयपत्र वितरण शिविर, २६ जनाले लिए परिचयपत्र

  • प्रकाशित मिति: शनिबार, चैत्र १ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप जिल्लामा क्रियाशील पत्रकारहरूलाई प्रेस रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले परिचयपत्र वितरण गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको समन्वयमा जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार एक दिने शिविर आयोजना गरी कार्यालयले परिचयपत्र वितरण गरेको हो ।
प्रदेश रजिष्टार प्रमुख रेवतीप्रसाद सापकोटाको उपस्थितिमा भएको शिविरमा २६ जना स्थानीय पत्रकारलाई परिचयपत्र वितरण गरिएको छ ।
प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइन, रेडियो, पत्रपत्रिकासहितका सञ्चारमाध्यममा कार्यरत विभिन्न कारणले परिचयपत्र लिन बाँकी पत्रकारलाई जिल्लाबाट नै सेवा प्रवाह गर्न शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइन, रेडियो, पत्रपत्रिका सहितका सञ्चारमाध्यममा कार्यरत धेरै पात्रकार साथीहरू हुनुहुन्छ । विभिन्न कारणले उहाँहरूले परिचयपत्र लिन सक्नुभएको थिएन । यही कुरालाई ध्यानमा राखेर हामीले समन्वय गरी शिवि सञ्चालन गरिएको हो ।”
सञ्चार रजिष्टार कार्यालयले प्रदेशमा दर्ता भएका सञ्चार माध्यममा कार्यरत पत्रकार र वाग्मती प्रदेशमा क्रियाशील अग्रज पत्रकारलाई कर्म क्षेत्रमा नै पुगेर परिचयपत्र वितरण तथा नवीकरण गर्न थालेको प्रदेश रजिष्टार सापकोटाले बताउनुभयो ।
उहाँले भन्नुभयो “रजिष्टार कार्यालयले समाचार सङ्कलन, लेखन,सम्पादन र प्रविधिमैत्री तरिकाले प्रशोधन गर्न, श्रव्य दृश्य समाचार सामग्री उत्पादन गर्न, तथ्याङ्कको प्रस्तुतिसहित अनलाइन पत्रकारिता गर्न गराउन र बजार व्यवस्थापन कला सिकाउँदै आएको छ । अब यो कार्यालयले आफ्नो सेवा प्रवाहलाई सम्बन्धित सेवाग्राहीको कर्म क्षेत्रमै पुगेर उपलब्ध गराउन थालेको छ।”
पत्रकारहरूलाई प्रेस रजिष्ट्रारको कार्यालयले उपलब्ध गराएको पत्रकार परिचयपत्रको उचित सदुपयोग गर्न सापकोटाले आग्रह गर्नुभयो । यसले पत्रकारलाई फिल्डमा काम गर्न सहयोग पुग्ने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो।