सिन्धुलीको मुलकोटमा विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १७ २०८१
  • तामाकोशी

सिन्धुली । बिपी राजमार्गको खुर्कोट नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–५ मुलकोटमा विद्युतीय गाडी दुर्घटना भएको छ । शनिवार दिउँसो झापाबाट काठमान्डौ जाँदै गरेको म.प्र.०२–००१ज००६३ नम्बरको गाडी अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि चालक सहचालक सहित ९ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा चालक कमलामाई नगरपालिका–७ रामपुरका २४ वर्षीय सुजन बल, सहचालक सोही ठाउँका १९ वर्षीय निशान तामाङ, काठमान्डौ महानगरपालिका–१६ का ५२ वर्षीय विष्णुमाया लालचन, ५६ वर्षीय यमुकुमारी हिराचन, ५८ वर्षीय पदम कुमारी जुवारचन, १६ वर्षीय हास्मी जुवारचन, ३० वर्षीय हानानी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तिलाल जुवारचन रहेका छन् । घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।