रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा भोलि सोमबारबाट सुरु हुने १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजना र मन्थली नगरपालिकाको व्यवस्थापनमा माघ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले आइतबार मन्थलीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जनाकारी दिएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीले माघ २८ गतेदेखि ३० गतेसम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको बताउनुभयो । प्रतियोगितामा रामेछाप जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७३९ जना खेलाडी सहभागी हुने बताउनुभयो ।
६६ वटा स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू सञ्चालन हुने उहाँले बताउनुभयो । सोमबार बिहान ७ बजेबाटै प्रतियोगिता अन्तरगतका खेलहरू सुरु भए पनि औपचारिक उद्घाटन भने दिउँसो १ः०० बजे जिल्ला समन्वय पछाडिको खेल मैदानमा हुने अध्यक्ष कार्कीले बताउनुभयो । प्रतियोगिताको बागमती प्रदेश सांसद तथा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले उद्घाटन गर्ने अध्यक्ष कार्कीको भनाइ छ ।
१९ लाख २२ हजार २०० रुपैयाँ प्रतियोगिताको अनुमानित लागत रहे पनि व्यवस्थापन रहेको मन्थली नगर खेलकुद विकास समितिबाट १२ लखा रुपैयाँ बजेट व्यवस्थापन भएको उहाँले बताउनुभयो । प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । उद्घाटन समारोहमा हुने स्काउट मार्च पास प्रदर्शनीमा पहिलो हुने पालिकाकालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
अहिले १२ लाख बजेट दिने निर्णय गरेको भए पनि नपुग भएको खण्डमा १३ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सबै लागत मन्थली नगर खेलकुद विकास समितिले बेहोर्ने मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो ।
मन्थली नगरपालिकाको व्यवस्थापनमा हुन लागेको यो प्रतियोगिताका लागि मन्थली नगर खेलकुद विकास समितिले विशेष तयारी गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले राष्ट्रका लागि खेलकुद महत्त्वपूर्ण रहेकाले यस्ता प्रतियोगिताहरूलाई सव्य र भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।