मन्थलीमा माघ १६ गतेदेखि २६ गतेसम्म कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी हुँदै

  • प्रकाशित मिति: शनिबार, माघ १२ २०८१
  • तामाकोशी

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा ११ दिने रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ हुने भएको छ ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १६ बुधवारदेखि २६ गते शनिवारसम्म सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा मेला प्रदर्शनी हुन लागेको हो ।

शनिवार आयोजक रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा पत्रकार भेटघाट कार्यक्रम गरी यसबारेमा जानकारी दिएको हो । पत्रकार भेटघाट कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले रामेछाप जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउन मेला प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।



यो मेला प्रदर्शनीले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रामेछापमा धेरै कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरू छन् । यहाँ धेरै पर्यटकीय क्षेत्रहरू पनि छन् । यी सबैको प्रवद्र्धन गर्न अत्यावश्यक छ । यही कुरालाई ध्यानमा राखेर हामीले कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको आयोजना गरिएको हो ।”

११ दिनसम्म चल्ने मेला प्रदर्शनीबाट २५ लाख रुपैयाँ आम्दानी हुने र सोही अनुसारको खर्च हुने आयोजकको अनुमान रहेको पनि उहाँले बताउनुभयो । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रममा भने टिकटको व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीले विगतका गुनासो तथा समस्यालाई मध्यनजर गर्दै यो पटक प्रदर्शनी स्थलको अध्ययन अवलोकनलाई हाइब्रिड मोडलमा गर्ने व्यवस्था मिलाएका छौँ । मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म सबैले निःशुल्क अवलोकन गर्न सक्नुहुन्छ । माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने सांस्कृतिक कार्यक्रमका लागि भने टिकटको व्यवस्था गरिएको छ ।”

मेला प्रदर्शनीमा ७५ वटा भन्दा बढी स्टलहरू रहने र स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई भने पालिकाहरूको सहयोगमा स्टल निःशुल्क प्रदान गरिने रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताउनुभयो । स्थानीय कृषि, घरेलु तथा साना उद्योगका उत्पादन रहेका स्टलका एक जनालाई खानाको व्यवस्था पनि आयोजकले गर्ने उहाँले बताउनुभयो ।

यो कार्यक्रम अन्तरगत गायन, नृत्य प्रतियोगिता जस्ता कार्यक्रमहरू पनि सञ्चालन हुने र मेला प्रदर्शनीमा आफ्नो उत्पादन ल्याउने विभिन्न विधाका उत्कृष्ट २० जना कृषि तथा उद्यमीहरूलाई सम्मान तथा पुरस्कृत पनि गरिने उहाँले बताउनुभयो । रामेछाप उद्योग वाणिज्य संघले गत वर्षको पुस २६ गतेदेखि माघ ७ गतेसम्म सदरमुकाम मन्थलीमा वृहत् रामेछाप महोत्सव २०८० आयोजना गरेको थियो ।